शनिबार, वैशाख १२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपा सुदूरपश्चिम बैठक बस्दै, पूर्वमहामन्त्री पारस बाहुनले उठाए आठ प्रश्न

रास्वपा सुदूरपश्चिम बैठक बस्दै, पूर्वमहामन्त्री पारस बाहुनले उठाए आठ प्रश्न

 |  शनिबार, वैशाख १२, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १२, २०८३

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश समितिको आज बस्ने बैठकअघि पूर्वप्रदेश महामन्त्री पारस बाहुनले संगठनभित्रको आन्तरिक लोकतन्त्र, पारदर्शिता र नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै आठ बुँदे धारणा सार्वजनिक गरेका छन्।

National life

सामाजिक सञ्जाल फेसबुकमार्फत बाहुनले आजको बैठक केवल औपचारिकता हुने कि संगठन सुधारतर्फ ठोस निर्णय गर्ने भन्ने प्रश्न गर्दै पार्टीको भावी दिशा यही बैठकले तय गर्ने संकेत गरेका हुन्।

उनले प्रदेश संगठन सचिव चयन प्रक्रियामा देखिएको विवाद, एकल आवेदक हुँदाहुँदै वैकल्पिक बाटोबाट नियुक्तिको प्रयास, तथा ३.५ वर्षदेखि नेतृत्वमा रहेका र जिल्लास्तरबाट राइट टु रिकल माग गरिएका प्रदेश सभापतिको भूमिकाबारे बैठकमा समीक्षा हुनुपर्ने बताएका छन्।

बाहुनले व्यक्तिगत प्रतिशोधको शिकार बनाइएका प्रभावशाली नेताकार्यकर्ताको पुनर्समीक्षा, नवप्रवेशी तथा पुराना सदस्यहरूको न्यायोचित व्यवस्थापन, गुप्त रूपमा मनोनीत विभाग पदाधिकारीहरूको विवरण सार्वजनिक गर्नुपर्ने विषय पनि उठाएका छन्।

त्यस्तै, उनले समायोजन तथा आगामी अधिवेशनको स्पष्ट खाका सार्वजनिक गर्न, वडा तथा पालिकामा प्रभावहीन तर नेतृत्वअनुकूल व्यक्तिहरूलाई जिम्मेवारी दिने अभ्यास पुनरावलोकन गर्न बैठकले साहसिक निर्णय लिनुपर्ने बताएका छन्।

kumari

'यी विषयमा ठोस निर्णय भए पार्टी व्यक्तिकेन्द्रित नियन्त्रणबाट बाहिरिएर लोकतान्त्रिक अभ्यासतर्फ जान सक्छ,' बाहुनले सार्वजनिक गरेको धारणामा भनिएको छ। अन्यथा बैठक अनावश्यक सम्मान, औपचारिकता र जी-हजुरीमै सीमित हुने उनको भनाइ छ।

राजनीतिक वृत्तमा बाहुनका यी प्रश्नलाई सुदूरपश्चिममा रास्वपाभित्रको आन्तरिक बहसलाई सार्वजनिक विमर्शमा ल्याउने प्रयासका रूपमा हेरिएको छ। अब चासोको विषय भने आजको बैठकले उठाइएका प्रश्नहरूलाई सम्बोधन गर्छ कि गर्दैन भन्ने बनेको छ।

प्रकाशित: Apr 25, 2026| 11:08 शनिबार, वैशाख १२, २०८३
प्रतिक्रिया दिनुहोस्