शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

 |  शनिबार, चैत ७, २०८२

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०८२

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा मधेसी समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

मधेसी आयोग स्थापना दिवसका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा उनले आन्दोलनका उद्देश्य स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहित राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्नु रहेका बताए।

“जनचाहनालाई आत्मसात् गरेर राष्ट्र निर्माणका लागि अघि बढ्नु आजको आवश्यकता हो, हालै सम्पन्न निर्वाचनमार्फत जनताद्वारा अभिव्यक्त देश विकासको दायित्वलाई पूरा गर्न सबै पक्षलाई आह्वान गर्दछु”, राष्ट्रपति पौडेलले भने। साथै उनले मधेसी समुदायले देश विकासमा पुर्‍याएको योगदानको सराहना गरे।

आयोगले बितेका सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि आधार खडा गरेको बताउँदै राष्ट्रपतिले आगामी दिनमा पनि आयोग सक्रिय रहने पुर्‍याउने विश्वास व्यक्त गरे।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले मधेसभित्रका विविध भाषा, कला, संस्कृति र इतिहास नेपालका गौरव भएका बताए। उनले आगामी दिनमा मधेसी समुदायभित्र पछाडि परेका वर्ग, समुदाय, महिला र सीमान्तकृत समूहको हकहितका लागि आयोगले ठोस कार्यक्रम ल्याउने विश्वास व्यक्त गरे।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सांस्कृतिक तथा भाषिक अधिकार सम्वर्द्धन र विकास आयोजना कार्यान्वयनमा मधेसी समुदायको सहभागितालगायत विषयमा सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए।

त्यस अवसरमा आयोगका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित: Mar 21, 2026| 14:36 शनिबार, चैत ७, २०८२
प्रतिक्रिया दिनुहोस्