छत्रबहादुर भट्ट राजनीति तथा समाजसेवामा सक्रिय व्यक्ति हुन्। उनी लामो समयदेखि नेपाल-भारत सम्बन्ध बलियो बनाउने काममा सक्रिय छन्। भट्टको जन्म डडेल्धुराको गन्यापधुरा गाउँपालिका-६ जैसरामा भएको हो। उनका पिता रोजगारीको सिलसिलामा भारतमा थिए। चार वर्षको हुँदा रुखबाट लडेर भट्टको हात टुट्यो। त्यसपछि उनी उपचारका लागि भारत पुगे। बुबासँग बसेर उनी त्यहिँ पढ्न थाले। त्यसले उनको भारतसँगको सामिप्य निकट तुल्याइदियो। उनको भारतका नेताहरूसँगको सम्बन्ध बलियो बन्यो। राजनीतिक सक्रियता बढ्यो। भट्ट समाजसेवामा सक्रिय हुन थाले। भारत पुग्ने नेपालीहरूलाई उपचारदेखि विभिन्न क्षेत्रमा सहयोग गर्न थाले। उनको नेपालका राजनीतिक दलका नेताहरूसँग पनि सम्बन्ध बलियो बन्दै गयो। त्यही चेत र मातृभूमि नेपालका लागि केही गर्नुपर्छ भन्ने सोचका साथ उनी २०८२ फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कैलाली-४ बाट स्वतन्त्र उम्मेदवार बने। तर, उनले पराजय भोग्नुपर्यो। पराजित भए पनि उनले आगामी दिनमा जनताको माझमा रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। आज उनीसँग उनको राजनीतिक यात्रा र चाहनाका विषयमा केन्द्रित रहेर हामीले संवाद गरेका छौं।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेरिराख्नु भएको छ?
सफल रुपमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको छ। जेनजी आन्दोलनपछि नयाँ म्यान्डेटका साथ जनप्रतिनिधि चयन हुनु भएको छ। नेपालमा नयाँ शक्तिको खाँचो छैन, सफा राजनीति आवस्यक हो। सफा राजनीतिको आवस्यकतालाई बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूरा गर्ने ममा विश्वास छ। राजनीतिक यात्रामा नेपालको सुनौलो भविश्य देखिँदैछ। धेरैले चुनाव हुँदैन भन्थेँ। तर, चुनाव भयो। चुनाव सम्पन्न हुँदा देश जितेको महशुस मलाई भइरहेको छ। अब समृद्ध नेपाल, विकसित नेपाल, समृद्ध युवा र समृद्ध जनता हुनुपर्छ।
पूराना राजनीतिक दलले ठूलो पराजय भोगे। यस्तो अवस्थामा रास्वपाबाट समृद्ध नेपाल र समृद्ध जनता हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ?
नेपालको ७७ वर्षको इतिहासलाई फर्केर हेर्दा ठूला तीन राजनीतिक आन्दोलन भए। ती आन्दोलनबाट जनताले केही पाएनन्। जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा जनताले नयाँ राजनीतिक दल रास्वपालाई नयाँ अवसर दिनु भएको छ। यसले रास्वपाप्रति जनताको ठूलो अपेक्षा देखिन्छ। यो रास्वपाका लागि अवसर र चुनौति दुवै हो। जनता नै राजनीतिमा सार्वभौम हुन्। उहाँहरूले यसभन्दा पहिले अरु दललाई अवसर दिनु भएको थियो। यसपटक पूराना दलको कार्यशैलीप्रति वाक्क भएका जनताले नयाँ दललाई अवसर दिनुभयो। गठबन्धनको राजनीतिले नेपालको राजनीति अस्थिर बनेको थियो। तर, त्यसको यसपटक अन्त्य भएको छ। यो अवसरलाई रास्वपाले सदुपयोग गर्न सक्नुपर्छ। पूराना दलको पनि नेपाल बनाउन ठूलो योगदान छ। रास्वपाले त्यो योगदानको कदर गर्दै आफ्ना योजना कार्यान्वयन हुने हिसावले काम गर्नुपर्छ।
नेपालमा दिगो विकास, सुशासन र समृद्धि कसरी हासिल गर्नसक्छौं?
हामीले राम्रो काम गर्नुपर्छ। भ्रष्टाचार गर्नु हुँदैन। समयको चक्रलाई चिन्न सक्नुपर्छ। विश्वका विभिन्न देशबाट राम्रा र सफल मानिसलाई नेपाल भित्र्याउनुपर्छ। नेपाल सरकारका प्रधानमन्त्री र मन्त्री छिमेकी राष्ट्र तथा बाह्य राष्ट्रमा जानुपर्छ। त्यहाँका उच्च पदस्थ व्यक्तिहरूलाई नेपाल बोलाउनुपर्छ। उहाँहरूलाई लगानीका लागि प्रेरित गर्नुपर्छ। पर्यटकहरूलाई भित्र्याउन सक्नुपर्छ। दिगो प्रभाव राख्ने र रोजगारी सिर्जना गर्ने ठूला योजना दलविद्युत्, पर्यटन, उद्योगधन्दा, कलकारखानामा लगानी बढाउनुपर्छ। विश्व बैंक, आइएमएफ, लगानी बोर्डबाट ऋण लिएर सडक बनाएर मात्र विकास हुँदैन। योजनावद्ध रुपमा काम गरे मात्र समृद्धि हासिल गर्न सकिन्छ। भारतमा नेपालबाट जाने व्यक्तिहरूलाई त्यहाँका उच्च पदस्थ व्यक्तिहरूसँग भेटाउन मैले सहयोग गर्छु। भारतमा सबैसँग मेरो राम्रो सम्बन्ध छ। भारत महाशागर हो। त्यो महाशागरबाट हामीले फाइदा लिन सक्नुपर्छ। कहिले सानोतिनो कुरामा तितोमिठो होला। त्यसलाई मनमा लिनु भएन। हामीले नेपालमा अवसरको निर्माण गर्नुपर्छ।
नेपाल-भारत सम्बन्धलाई कस्तो पाउनुहुन्छ र यो सम्बन्ध अझैँ बलियो र दिगो बनाउन के गर्नुपर्ला?
रोटीबेटीभन्दा ठूलो सम्बन्ध हाम्रो छ। भगवान् श्रीराम र सिता मातासँग जोडिएको बैभवशाली इतिहास छ। हाम्रो सम्बन्ध आराध्यदेव पशुपतिनाथसँग जोडिएको छ। भारतका भट्ट थरका पुजारी पशुपति नाथमा हुनुहुन्छ। भारतका थुप्रै मन्दिरमा नेपाली पुजारी हुनुहुन्छ। हाम्रो सम्बन्ध अनन्त कालदेखि छ। यो सम्बन्धलाई हामीले उपयोग गर्नसक्नुपर्छ। मुकेश अम्बानी जस्ता व्यक्तिलाई नेपाल बोलाएर विशेष सम्मानका साथ खप्तड, बडिमालीका, पशुपति जस्ता क्षेत्रमा लग्न सक्यौं भने त्यसको प्रभाव दिगो हुन्छ।
तपाईंलाई नेपालका राजनीतिक दलले उहाँहरू आउने वातावरण सिर्जना गर्न नसकेको जस्तो लाग्छ?
हो, एकदमै हो। उहाँहरूले त्यो वातावरण सिर्जना गर्न सक्नु भएको छैन। उहाँहरू आउँदा दोहोरो सम्बन्ध विकास हुन्छ। नेटवर्क नै थेटवर्थ हो, पैसा मात्रै नेटवर्थ होइन। अमेरिकाका ठूला ठूला व्यापारी भारत आउँछन्। नेपालमा लुम्बिनी छ, पशुपतिनाथ छ, सर्वोच्च शिखर सगरमाथा छ, खप्तड छ, बडिमालिका छ। जहाँ हेर्यो त्यही नेपालको सम्भावना छ। तर, हामीले विदेशी लगानी र व्यक्तिलाई नेपालमा भित्र्याउन सकिरहेका छैनौं। त्यसका लागि एमबेसीहरूले पनि भूमि खेल्न सक्नुपर्छ। हामी जस्ता सम्बन्ध भएका व्यक्तिहरूलाई पनि सरकारले जिम्मेवारी दिन सक्नुपर्छ।
भारतको नेपाललाई हेर्ने दृष्टिकोण कस्तो पाउनु हुन्छ?
नेपाललाई भारतका जनताले दिव्य भूमिका रुपमा लिनुहुन्छ। पशुपति नाथका भक्त भारतमा थुप्रै छन्। भारतका र नेपालका जनताको गोत्र मिल्छ, धर्म र संस्कृति मिल्छ। हाम्रो अनुहार र व्यवहार मिल्छ। नेपालले यो सम्बन्धको किन सदुपयोग गर्न सकेको छैन भन्नेमा म अचम्मित छु।
तपाईंमा राजनीति गर्ने सोच कसरी पलायो र यसपटक प्रतिनिधिसभा निर्वाचनमा कैलाली-४ बाट स्वतन्त्र उम्मेदवार बन्नु भयो?
कुनै पनि कदम एक्कासी हुँदैन। मेरो प्रतिनिधिसभाको उम्मेदवारी पनि लामो सोच पछिको परिणाम हो। यो आत्मादेखिको योजना हो। मेरो बुबा पदमराज भट्ट पनि राजनीतिक चेत भएको व्यक्ति हुनुहुन्थ्यो। उहाँ समाजसेवी र स्वच्छ छवी भएको व्यक्ति हो। उहाँबाटै ममा समाजसेवाको गुण सरेको हो। उहाँको म निर्वाचन प्रतिस्पर्धामा हुँदा निधन भयो। ममा एकैपटक उम्मेदवार बन्ने सोच आएको होइन, लामो योजनाका साथ उम्मेदवार बनेको हुँ। यसपटक चुनावी प्रतिस्पर्धामा होमिँदा सबैले मलाई चिने, मैले पनि सबैलाई चिनेँ। यसपटक चुनाव लडेर मैले मैदान तयार गरेको छु। अब निरन्तर चुनावी प्रतिस्पर्धा र जनताकै माझमा रहने छु। नेपालका लागि जीवन अर्पित गर्ने छु। मेरो बुबा पनि बहुदलका लागि लड्नु भएको व्यक्ति हो। उहाँले प्रजातन्त्र प्राप्ति नहुँदासम्म आफ्नो दाह्रि नकाटेर बहस र पैरवीमा हुनुहुन्थ्यो।
जनताको घरदैलोमा पुग्दा तपाईंले के कस्ता समस्या पाउनु भयो?
कैलाली-४ निकै ठूलो रहेछ। त्यहाँ अझै पनि थुप्रै समस्या देखेँ। शिक्षा, स्वास्थ्य, बाटोघाटो, रोजगारी र बिजुलीबत्तिलगायत थुप्रै समस्या देखेँ। ती समस्याले मेरो मन चसक्क दुखेको छ। हाम्रो देश सानो भए पनि निकै धनी छ। तर, यति सानो देशलाई नेताहरूले किन विकसित गर्न नसकेका होलान् भन्ने प्रश्न सधैँ मनमा पैदा भइरहन्छ। क्यान्सरकै उपचार गर्ने अस्पताल छैन। अस्ति एक क्यान्सर रोगीलाई सहयोग गरेर नेपालगञ्ज पठाए, एक बिरामीलाई काठमाडौं बोलाएको छु। कतिपय बिरामीलाई भारत पठाउँछु। अब क्यान्सर पीडितको उपचारका लागि कोष निर्माण गर्ने योजना बनाएको छु। त्यो रकम गरिव बिरामीको उपचारमा सहयोग गर्ने सोच छ। मैले यि र यस्ता समस्या समाधानका लागि निर्वाचनमा भाग लिएको हुँ। आर्थिक गतिविधि चलाएमान छैनन्। उत्तरप्रदेश ठूलो जनसंख्या भएको भारतको राज्य हो। हामीले त्यो प्रदेशमा मात्रै व्यापार व्यवसाय प्रवर्द्धन गर्न सक्यौं भने पनि मनग्य नाफा हासिल गर्न सक्छौं।
यसको दिगो समाधान के हुनसक्छ?
यसको दिगो समाधान भनेको नेपालमा राम्रा बाह्य लगानीकर्ता भित्र्याउनु नै हो। एलन मस्क, बिल्गेट्स, अम्बानी जस्ता व्यक्तिलाई लगानीका लागि नेपाल भित्र्याउन सक्नुपर्छ।
नेपालमा लगानीको वातावरण नै छैन भनिन्छ?
हो बाधा थियो होला। तर, अब सरकारले बहुमतका साथ जनप्रतिनिधि पठाउनु भएको छ। अब ती समस्याको समाधान बहुमत प्राप्त सरकारले गर्न सक्नुपर्छ। भएका कमजोरी त हटाउनुपर्यो नी। समस्या छ भनेर हेरेर बस्दैमा समाधान त हुँदैन। मलाई पनि भारत र युरोपबाट नेपालमा काम गर्न खोजेको भन्द कल गर्नुहुन्छ। मैले त उहाँहरूलाई विश्वमै नेपाल लगानीका लागि उपयुक्त ठाउँ हो भनिरहेको छु। विश्वमै लगानीका लागि नेपाल जस्तो अरु सुरक्षित देश छैन। हामीले बाह्य ठूला लगानीकर्ताका केही आवर्षक प्याकेजका साथ नेपालमा भित्र्याउन सक्नुपर्छ। यो नेपालको स्वर्णकाल हो, यही समयमा हामीले समृद्धि हासिल गर्नसक्नुपर्छ।
नेपाली बिरामी हुँदा भारतमा तपाईंले ठूलो सहयोग गर्नुहुन्छ, समस्यामा परेका नेपालीले तपाईंसँग सम्पर्क गर्न चाहे कसरी सम्पर्क गर्ने?
अत्तरियामा मेरो सचिवालय खोलेको छु। म जिवित रहँदासम्म त्यो रहन्छ। त्यहाँबाट पनि उहाँहरूले मलाई सहयोग गर्न सक्नुहुन्छ। मैले ठूलो सहयोग गरेको होइन, म आफ्नो धर्मका रुपमा लिन्छु। एक मानिसले अर्को मानिसको सहयोग गर्नु मेरो कर्तव्य हो। मसँग पनि पैसा छैन। तर, मैले कमाएको विश्वासले सहयोग गर्न सकिरहेको छ। मलाई राजनीति पनि ८० प्रतिशत समाजसेवा हुनुपर्छ, २० प्रतिशत राजनीति हुनुपर्छ लाग्छ। मेरो बुबा पनि मलाई यस्तै शिक्षा दिनुहुन्थ्यो। यसरी सहयोग गर्दा मलाई सन्तुष्टि र खुसी प्राप्ति हुन्छ। भगवान शिवले ममा त्यो ज्ञान बोध गराउनु भएको छ। यसैमा म खुसी छु।
तपाईं त अध्यात्मिक मान्छे, अध्यात्म के रहेछ?
अध्यात्म कर्मकाण्ड होइन, मन ठूलो हुनुपर्छ। अध्यात्म मनमा, भावनामा, करुणामा हुन्छ। मनमा शान्ति छैन भने अध्यात्म हुँदैन। अध्यात्म भएको मानिसले सत्कर्म गर्नुपर्छ। सहि बाटो हिँडेर अरुको पीडा बुझ्न सक्नुपर्छ। जीवनको यात्रा गल्ती गरेर आएको हुन्छ। गल्ती गरेर नै सिकाइ हुन्छ। मानिसले गल्ति गरे पनि पाप गर्नु हुँदैन। मानिसले असल विचार राख्दा भगवानले त्यसको फल दिनुहुन्छ।
अन्त्यमा के भन्न चाहनुहुन्छ?
हामी सधैँ खुसी हुनुपर्छ। मानवता बुझ्नुपर्छ। पाप गर्नु हुँदैन। सबैलाई खुसी राख्न सक्नुपर्छ भन्ने मलाई लाग्छ। त्यसैले सबैलाई खुसी र सुखी हुन म आग्रह गर्छु। म चुनाव लडेँ। यसबाट पनि म खुसी छु। म चुनाव लड्दा एक जना कांग्रेसीले अब छत्रले सबै उडाउँछ भनेर बुबासँग भनिदिनु भयो। तर, मैले धेरै साथी कमाएको छु। सहयोग पाउँछु र चुनाव लड्छु भनेर बुबालाई सम्झाए। उहाँ खुसी हुनुभयो। चुनाव लडेर म पनि खुसी भएँ। अब आगामी दिनमा पनि म चुनाव लड्ने छु र सधैँ जनताकै माझमा रहने छु। अब म आगामी दिनमा गोदावरी नगरपालिका र त्यसपछि पुन: प्रतिनिधिसभा निर्वाचनमा भाग लिने छु। अब म मेरो बाँकि जीवन समाजसेवामा नै अर्पित गर्ने छु। मेरा बुबाले पनि यो संसार त्याग्दै गर्दा मैले प्रजातन्त्रका लागि लडे अब मेरो छोराले प्रजातन्त्रको रक्षा गर्ने छ भन्नु भएको थियो। अब म मेरा बुबाको त्यो सपना अवस्य पूरा गर्ने छु। म सधैँ जनतासँग नै रहने छु।