काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्।
सिंहदरवारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा भएको भेटमा उनीहरूबीच दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, आपसी सहयोग र समसामयिक विषयमा छलफल भएको थियो।
नेपाल र चीनबीचको सम्बन्ध वर्षौं पुरानो भएको चर्चा गर्दै अध्यक्ष दाहालले दुई देशबीचको सम्बन्ध कूटनीतिक तहमा मात्रै नभई जनस्तरमा समेत बलियो र प्रगाढ रहेको बताए। गत फागुन २१ गते नेपालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रियामा रहेको बताउँदै अध्यक्ष दाहालले जेनजी आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोगप्रति प्रशंसा व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
सो अवसरमा राजदूत चाङले चीन-नेपाल देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै पारस्परिक लाभमा आधारित मैत्री सम्बन्ध कायम रहेको बताए। उनले दुवै देशका राष्ट्रपतिकै तहबाट भ्रमण आदान प्रदान भएपछि दुई देशबीचको सहकार्य र सहयोगमा उल्लेख्य वृद्धि भएको र सम्बन्ध नयाँ उचाइमा उठेको बताए।
भेटमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कँडेल लगायत परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयका कर्मचारीहरू तथा चिनियाँ दूतावासका अधिकारीहरूको सहभागिता रहेको थियो।