आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्राः शिक्षकदेखि सांसदसम्म

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका जोशीको यात्राः शिक्षकदेखि सांसदसम्म

 |  आइतबार, फागुन २४, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २४, २०८२

डडेल्धुरा- डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा ताराप्रसाद जोशी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै संसद्को यात्रा तय गरेका हुन्।

National life

(रास्वपा) का उम्मेदवार डा जोशी सात हजार १० मतान्तरले विजयी भएका छन्। उनले १९ हजार १३१ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार महरले १२ हजार १२१ मत प्राप्त गरेका छन्। नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा (एमाले)का उम्मेदवार चक्र स्नेहीले तीन हजार २६ मत प्राप्त गरेका छन्।

डडेल्धुरामा ३४ वर्षे कांग्रेस विरासत तोडेका डा जोशीको जन्म २०२७ साल चैत ३० गते भएको हो। उन गन्यापधुरा गाउँपालिका-२ का स्थायी बासिन्दा हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी लामो समय विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनसँग जोडिँदै आएका छन्। डा जोशीको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यका रूपमा सुरु भएको थियो।

विसं २०४८ मा शिक्षण पेसामा आबद्ध हुँदै शिक्षक संगठनमा आबद्ध भएका डा जोशी २०५१ सालमा नेकपा (एमाले) डडेल्धुरा-काठमाडौं सम्पर्क मञ्चको सदस्य बनेर पार्टी राजनीतिमा सक्रिय भए। उनले जिल्लाका विभिन्न विद्यालयहरूमा अध्ययापनसमेत गरे। पार्टीभित्र डा जोशीले क्रमशः विभिन्न जिम्मेवारी सम्हाले। विसं २०५३ सालमा एमाले डडेल्धुरा जिल्ला कमिटी सदस्य भएका डा जोशी २०५४ सालमा जिल्ला कमिटी सचिव बने।

त्यस्तै, २०५५ सालतिर डा जोशी राजनीतिक जिम्मेवारीसँगै पत्रकारितामा पनि सक्रिय बने। त्यसक्रममा कञ्चनपुरबाट प्रकाशन हुने ‘शिखा’ साप्ताहिकको प्रमुख सम्पादकको जिम्मेवारी सम्हाले। उनले कान्तिपुर, नेपाल साप्ताहिक तथा भारतको ‘हिन्दूस्तान टाइम्स’मा समेत स्तम्भ लेख्दै समसामयिक राजनीतिक तथा नीतिगत विषयमा विचार प्रस्तुत गरे।

Laxmi sunrise bank
kumari

संगठनमा लामो समय काम गर्नुभएका डा जोशी २०६९ सालमा एमाले डडेल्धुराको जिल्ला अध्यक्षसमेत भए। राजनीतिक गतिविधिसँगै उनले लोकतान्त्रिक आन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गरे। विशेषगरी २०६२-६३ को जनआन्दोलनमा डा जोशीको सक्रिय सहभागिता रहेको थियो। सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा समेत सक्रिय रहेका उनी सामाजिक मुद्दामा आवाज उठाउने नेताका रूपमा चिनिन्छन्।

निर्वाचन राजनीतिमा भने डा जोशीले उतारचढाव भोगे। विसं २०७० को संविधानसभा निर्वाचनमा उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनले कर्णबहादुर मल्लसँग हार व्यहोरे। तर, २०७९ सालको प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि डा जोशीले पुनः राजनीतिक रूपमा बलियो उपस्थिति देखाए। विसं २०७८ मा एमाले परित्याग गरेका जोशी त्यसपछि स्वतन्त्र राजनीतिक यात्रामा सक्रिय भएका थिए।

गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनपछि सरकार परिवर्तनको माग चर्किएपछि डा जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिए ।

शैक्षिक रूपमा पनि डा जोशी उच्च अध्ययन गरेका नेता हुन्। नेपालमै राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका उनले भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पिएचडी) हासिल गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध, विकास नीति, उद्यम विकास, सार्वजनिक वित्त, सार्वजनिक प्रशासन तथा मानवअधिकारका क्षेत्रमा उनको अनुभव छ।

प्रकाशित: Mar 08, 2026| 07:15 आइतबार, फागुन २४, २०८२
प्रतिक्रिया दिनुहोस्