आइतबार, फागुन १७, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाको विरासत नैनसिंह महरको काँधमा : यस्तो छ उनको राजनीतिक यात्रा

देउवाको विरासत नैनसिंह महरको काँधमा : यस्तो छ उनको राजनीतिक यात्रा

 |  आइतबार, फागुन १७, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, फागुन १७, २०८२

डडेल्धुरा। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता नैनसिंह महरको कोमल बालापन महाकाली किनारसँग जोडिएको छ। यो सामग्री तयार गर्दा पनि उनी महाकाली क्षेउकै नाडीगाउँको चुनावी सभामा छन्। त्यहाँको माटोमा उभिएर उनी जनतामाझ देश बनाउने संकल्प गरिरहेका छन्।

डडेल्धुरा भन्ने वित्तिकै सिंगो नेपालले देउवा (शेरबहादुर देउवा) सम्झन्छ। यसो भनौ देउवा डडेल्धुराको परिपुरक हुन्। करिब साढे तीन दशकदेखि यो क्षेत्रमा देउवा नै चुनाव लडे, जनताको प्रतिनिधि बने। राज्य सञ्चालनको प्रमुख ओहदामा पुगे।

आज !

आज देउवाको मात्र होइन, राजनीतिको ऐतिहासिक पृष्ठभूमि बोकेको डडेल्धुराको विरासत थाम्ने जिम्मा पार्टीले नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरको थाप्लामा हालिदिएको छ।

ऐतिहासिक किन ?

kumari

आसन्न प्रतिनिधिसभा निर्वाचनको महाकुम्भमा डडेल्धुराको टिकट लिँदैगर्दा महरलाई उत्साह कम गौरव र जिम्मेवारीबोध बढी भएको थियो। त्यो किन भने डडेल्धुरा राजनीतिको ऐतिहासिक माटो हो।

राजनीतिक निष्ठा, संयमित स्वभाव र लोकतन्त्रका सिपाही देउवाको मात्रै यो क्षेत्र थिएन। यही माटोले नेपालका प्रथम महिला मन्त्री द्वारिकादेवी ठकुरानी जन्माएको थियो। मुक्ति क्रान्तिका नायक किशान नेता भिमदत्त पन्त र लोकतन्त्रवादी योद्धा डडेल्धुरा कांग्रेसका संस्थापक एनडीप्रकास चटौतलगायतले कोरेको लोकतान्त्रिक मार्गलाई अझ फराकिलो बनाउने अभिभारा महरको काँधमा आएको थियो।

WhatsApp-Image-2026-02-23-at-12.27.22-PM-1772331752.jpeg
त्यसैले त उनले भने, ‘पुरानो इतिहास, नयाँ निकास’को जिम्मेवारी लिएर मैदानमा उत्रिएको छु।’

देशको राजनीति र व्यवस्था त्यति सहज छैन। भदौ २३ र २४ को जेनजी आन्दोलनले गम्भीर र संवेदनशील मोडमा देश उभिएको छ। यहीबेला देशसँगै महर पनि निर्वाचनमा होमिएका छन्।

उनी युवा भएकै कारण पार्टी मात्र होइन, पार्टी इतर र जेनजीले पनि रुचाउने कुरा एकातिर होला, तर आम जनगुनासाको सही व्यवस्थापन, अभावको पूर्ति, गरिबीबाट छुटकाराजस्ता मुद्दा बाहेक दशकौँको बलिदानीबाट प्राप्त संविधानको रक्षा र यसको पूर्ण कार्यान्वयनको अभिभारा पनि उनले उठाउनुपर्ने छ।

उनले भने, ‘यी सबै अभिभारा, जेनजीका नविनतम आकांक्षालाई सम्बोधन गर्ने आँट र संविधानको रक्षार्थ मेरो उम्मेदवारी हो। म यसमा आफूलाई खरो उतार्न सक्षम छु।’

WhatsApp-Image-2026-02-25-at-6.23.46-PM-1772331777.jpeg
यसका लागि आफू कहिल्यै आरोप प्रत्यारोपको राजनीतिमा नलाग्ने उनको अर्को संकल्प हो।

उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वस्थ प्रतिस्पर्धा र जनमतको कदर हो। म मेरा ऐजेन्डामा स्पस्ट छु। निर्वाचन भनेको जित र हारको प्राविधिक विषयभन्दा पर लोकतान्त्रिक संस्कारको उच्च प्रदर्शन पनि हो। म यो सँस्कारभन्दा पर हुनसक्ने मान्छे होइन।’

को हुन महर

२०३१ साउन १४ गते एक किसान परिवारमा कान्छो सन्तानका रुपमा जन्मिएका हुन महर। आमाको काखबाट उठेपछि उनका साथीसंगाती बने गाईबाख्रा।

तिनै बस्तुभाउसँग लडिबुढी गर्दै हुर्कियो उनको बालापन। भीरपाखा, डाँडाकाँडासँग मितेरी लाउँदै हुर्किए उनी। गाउँको जीवन। न लक्ष, न योजना न त कुनै अवसर ! ‘जे आउँछ, मजाले पचाउँछ’ भने झैँ बेप्रवाह बित्यो बालापन।

डडेलधुराको भागेश्वर–३ लामिकाडेमा पिता तुला महर र माता ललीता महरको कान्छो छोरो, सबैको प्रिय। सबैको आसाको केन्द्र भने उनी थिए नै। बाबुआमामा यो हुनु स्वभाविक पनि हो।

आमा बुवा चाहन्थे छोराले पढेर राम्रो सरकारी जागिर खाओस्। आफूहरूलाई सुखसँग पालोस्।

WhatsApp-Image-2026-02-26-at-9.50.44-AM-1772331810.jpeg
तर, ‘सोचे जस्तो हुन्न जीवन’ भने झैँ भयो। नैनसिंहको तक्दीर र समयका छालहरुले बाटो अर्कै मोडिदियो। पढ्दापढ्दै महरको मनमा राजनीतिप्रति रुची जाग्यो। उनको विवेकले राजनीति बुझ्न थाल्यो।

वरपरको परिवेश त्यस्तै। गाउँमा दुःख र पीडाका फेहरिस्त कम थिएनन्। गाउँका जनताका दुःखहरूले पिरोल्न थाल्यो। देशको अवस्थाले गिजोल्न थाल्यो। उनी त्यही समाजका बारेमा सोच्न थाले।

सरकारी जागिरे भयो भने आफ्नो समस्या समाधान हुने थियो, समाजको समस्या समाधानका लागि केही अरु नै गर्नुपर्ने उनलाई लाग्यो।

त्यसो भए समस्या समाधानको बाटो के त ? राजनीति। अनि होमिए उनी राजनीतिमा। उनलाई थाहा थियो देशको नीति फेर्ने भनेको राजनीति हो। भोलि राज्यको नेतृत्वमा पुगियो भने जनताको पक्षमा काम गर्न सकिन्छ। यही सोचेर आफू राजनीतिमा लागेको महर बताउँछन्।

आज उनी आफ्नो क्षेत्रको नेतृत्वको लडाइँमा होमिएका छन्। आसन्न निर्वाचनमा उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेर तिनै बालापनमा बिताएका गाउँ, कुना, कन्दराको यात्रामा रहेको बताउँछन्।

अभाव देखेर आएका नेता भएकाले महरलाई बिहान बेलुकी चुलो बाल्न नसक्ने अवस्थाका जनताहरूले आफ्नो पीडा बयान गर्नुपर्दैन। दिनभर भोकभोकै ज्यालामजदुरी गर्ने समाजका पीडा नजिकबाट महसुस गरेका छन्।

त्यही बुझेको नेता भएकै कारण युवा उमेरमै यहाँका जनताले राष्ट्रिय राजनीतिमा स्थापित गरेको मात्र होइन आज पार्टीले राजनीतिको ऐतिहासिक भूमिमा उत्तराधिकारी बनाएर पठाएको बताउँछन्।

‘म सामान्य परिवारको मान्छे हुँ। नेपालको राजनीति महंगो छ। तर, पनि मलाई राष्ट्र सेवा गर्नु छ। त्यसैले होमिएको छु’, उनले भने।

राजनीतिक यात्रा

आठ कक्षा पढ्दै गर्दा नेपाल विद्यार्थी संघको राजनीतिमा आवद्ध भएका नेता हुन महर। डडेलधुराको असीग्राम माध्यामिक विद्यालयमा पढे। त्यहाँका तीन जना शिक्षक त्रिभूवन विश्वविद्यालयमा पढेर गएका थिए।

WhatsApp-Image-2026-02-28-at-3.24.39-PM-1772331838.jpeg
‘गुरुहरूमा पनि राजनीतिक चेत थियो। उहाँहरू शेरबहादुर देउवासँग सामिप्यता भएका र जेल जीवन विताएका व्यक्ति हुनुहुन्थ्यो’, महर सम्झन्छन्, बाल्यकालका गुरुहरुलाई।

गुरुहरूको प्रजातान्तिक विचारधाराले उनलाई थप प्रभावित बनायो। उहाँहरूले प्रजातन्त्रप्रति देखाएको भरोसाले महरलाई नेविसंघको राजनीतिमा होमिन थप सहज भयो।

त्रिभूवन विश्व विद्यालयबाट राजनीति शास्त्रमा स्नाकोत्तर र एलएलबी गरेका महरले शिक्षाका चुनौतीहरू (२०६६), नेपाली कांग्रेस र भातृ संगठन (२०६४), अबको काँग्रेस (२०७२), संकल्प (२०७३), काण्डैकाण्ड (२०७५), महाकाण्ड (२०७८) जस्ता पुस्तक पनि लेखेका छन्।

२०४७ सालमा १६ वर्षकै उमेरमा महर असीग्राम माविको नेविसंघ इकाई अध्यक्ष भए। त्यसदिन विद्यालयमा पार्टीको कार्यक्रम थियो। कार्यक्रम सम्बोधनका लागि शेरबहादुर देउवा, तारणीदत्त चटौतलगायतका नेताहरु आएका थिए। त्यहाँ उनले पनि नेविसंघ इकाई अध्यक्षको रूपमा महरले भाषण गर्ने अवसर पाए। त्यति ठूला नेताका बीचमा बोल्न पाएपछि उनको राजनीतिक आँट उँचो भयो।

‘त्यति ठूलो जनमासमा गरेको भाषण र मैले पाएको हौसला मेरा लागि राजनीतिक जीवनको अर्को प्रेरणा बन्यो’, उनले सम्झे।

पछि उनकै गाउँका रामचन्द्र चटौत डडेलधुरा कांग्रेसको जिल्ला सभापति बनेपछि महरलाई कांग्रेसको राजनीतिमा झनै रस पस्यो। २०४८ सालको आम निर्वाचनपछि देउवा गृहमन्त्री बने। राष्ट्रिय राजनीतिमा देउवाको छवीले पारेको प्रभाव महरका लागि झनै आकर्षण बन्यो। उनलाई लाग्यो जीवनमा एक पटक अवश्य राष्ट्रिय राजनीति गर्नेछु।

आज तिनै महर उनै देउवाको उत्तराधिकारीका रुपमा डडेल्धुराबाट आसन्न फागुन २१ को निर्वाचनमा होमिएका छन्।

नेपाल विद्यार्थी संघको बुटवल महाधिवेशनमा महर नेविसंघ महाधिवेशन प्रतिनिधि भएर आए। निर्वाचन भयो।

‘त्यहाँको माहोलले मलाई झनै नेविसंघको केन्द्रीय राजनीति गर्ने महत्वकांक्षा पलायो। मैले मनमा त्यही समयमा नेविसंघको केन्द्रीय अध्यक्ष हुन्छु भन्ने अठोट लिएको थिए। त्यो बेला म १७/१८ वर्षको हुदो हुँ’, महर भन्छन्।

सफलताको सबै भन्दा ठूलो कडि संघर्ष र इमान्दारितालाई ठान्ने महर २१ वर्षको उमेरमा २०५२ सालमा नेपाल विद्यार्थी संघ डडेलधुरको कार्यबहाक जिल्ला अध्यक्ष भए। २०५४ सालमा उनले पार्टीको डडेलधुरा प्रचारप्रसार विभाग उपप्रमुखको रूपमा काम गरे। र, २०५६ सालमा नेविसंघ डडेलधुरा अध्यक्ष निर्वाचित भए।

२०५७ सालमा चितवन महाधिवेशनबाट निर्वाचन जितेर महर नेविसंघको केन्द्रीय सदस्य भए।

पत्रकार महर

महरलाई लेखनमा सानैदेखि रुची थियो। त्यही रुचीले उनी २०५३ सालमा कान्तिपुर दैनिकको रिपोर्टर बन्ने। त्यो समयमा जिल्लामा पत्रकारको संख्या नगन्य नै थियो। उनी राष्ट्रिय समाचार समिति र रेडियो नेपालमा पनि समाचार पठाउन थाले। तीन मिडियामा काम गर्दा उनको थोरै भए पनि आम्दानी हुनथाल्यो।

WhatsApp-Image-2026-02-28-at-5.18.49-PM-1772331864.jpeg
महरले पत्रकारीता सुरु गरिसकेपछि २०५६ सालमा नेपाल पत्रकार महासंघको डडेधुराको संस्थापक अध्यक्षका रूपमा काम गरे। उनी आफूलाई राजनीतिमा लाग्नुको आधारशीला पत्रकारीतालाई पनि ठान्छन्।

‘मैले जीवन जगत सिकेको पत्रकारिताबाटै हो। राजनीतिलाई अगाडि बढाउन र सुरुवाति दिनमा पत्रकारिताले मलाई आर्थिक सहजता पनि प्रदान गरेको हो’, महर सम्झन्छन्।

उनले २०५३ देखि ०५७ सम्म छोटो समय मात्रै पत्रकारिता गरे। तर, त्यही समयमा उनी पत्रकार महासंघ डडेलधुरा शाखाको स्थापना गर्न सफल भए।

फेरि राजनीति

पत्रकारिताप्रतिको सम्मान र पेशाप्रतिको इमान्दारिताका कारण उनले नेविसंघको केन्द्रीय सदस्य भएकै दिनबाट पत्रकारिता त्यागे। सक्रिय राजनीतिमा लागे। पत्रकारिताको निश्पक्ष धर्म नमरोस् भनेर आफूले पत्रकारिता त्यागेको उनी बताउँछन्।

महरले भने, ‘मैले राजीनामा दिँदा युवराज घिमिरे कान्तिपुरको सम्पादक हुनुहुन्थ्यो। उहाँले मलाई राजीनामा नदिन भन्नु भएको थियो। तर, मैले प्रतिउत्तरमा अब म समाचार लेख्ने होइन दाइ समाचार बन्छु भनेर राजीनामा दिएको थिएँ।’

पछि महर २०६४ सालमा नेविसंघको निर्वाचित उपाध्यक्ष भए। २०४८ सालमा बुटवल महाधिवेशमा एनपी साउँदलाई नेविसंघको अध्यक्ष जिताउँदै गर्दा महरले कुनै दिन म पनि अध्यक्ष बन्छु भनेर गरेको अठोट २०७३ सालमा पुरा गरेकै छोडे। उनी नेविसंघको अध्यक्षमा निर्वाचित भए।

उनले नेपाल विद्यार्थी संघको केन्द्रीय बागडोर सम्हालिसकेपछि थुप्रै सुधारका काम गरे। विद्यार्थीलाई सर्टिफिकेट धितो राखेर ऋण दिने प्रवन्ध गर्नुपर्ने उनकै अडान थियो।

‘सबै तहमा सेमिस्टरको आधारमा अध्यायापन हुनुपर्छ भन्ने मेरो अर्को एजेन्डा थियो। शिक्षाका लागि कूल बजेटको २० प्रतिशत बढी रकम छुट्याउनुपर्छ भन्ने प्रमुख माग थियो। कार्यान्वयन नभए पनि अहिले त्यो सबै पार्टीको घोषणापत्रमा समेटिएको छ’, महरले खुशी व्यक्त गरे। यो मेरो अहिले पनि ऐजेन्डा हो।

उनी राम्रा कामको थालनी गर्न नेताहरूले डराउन नहुने धारणा राख्छन्। नेविसंघको अध्यक्ष हुँदा महरले १६ वर्ष मुनीका विद्यार्थीलाई कुनै पनि संगठनको सदस्यता दिन नहुने प्रस्ताव केन्द्रीय समितिको बैठकबाट पारित गरेका थिए।

त्यो मात्रै होइन नेता महर शिक्षा र स्वास्थ्य राज्यको पूर्ण स्वामित्वमा हुनुपर्ने आफ्नो राजनीतिको प्रमुख एजेन्डा बनाएर अगाडि बढेका छन। उनी यस्तो गर्न सकेमात्रै मुलुकमा दुईखाले नागरिक उत्पादन रोकिने देख्छन्।

‘राजनीतिमा होमिदा नै मेरो दिमागमा शिक्षा र स्वास्थ्य पूर्ण (निःशुल्क) सरकारी स्वावित्वमा हुनुपर्छ लाग्थ्यो’, नेता महरले भने, ‘त्यो म नेतृत्वमा पुगेको दिन गर्छुगर्छु।’

जनसरोकारका विषयमा राज्यको ध्यान जान नसकेकोप्रति उनी चिन्तित् नेताका रुपमा चिनिन्छन्। नेता महर भन्छन्, ‘राजनीतिमा नैतिकता ह्रास भएको छ। अहिले जताततै नैतिकता नै आवश्यक छ। नैतिकवान व्यक्तिले मात्रै आदर्श राजनीति गर्नसक्छ।’

उनी नेता कार्यकर्ताको आर्थिक स्थिति र हैसियतको पार्टीमा अभिलेखिकरण हुनुपर्ने धारणा राख्छन्। यसो नभएसम्म राजनीतिज्ञप्रतिको वितृष्णा कम नहुने उनी देख्छन्। नेता आफू पारदर्शी भए मात्रै उनले व्यवस्थालाई पारदर्शी रूपमा अगाडि बढाउन सक्ने उनको दाबी छ।

उनी राजनीतिमा एक व्यक्ति एक पद, एक पटकको अवधारणा अवलम्बन हुनुपर्ने बताउँछन्।

‘आफ्नै माटोमा उत्पादनको मूल फुटाउनु नै समृद्धिको प्रस्थान बिन्दु हो’ भन्ने अठोट बोकेका महर यसपटकको निर्वाचनमा यिनै मुद्दा लिएर होमिएका छन्।

कृषि प्रमुख पेसा भएको देशमा जबसम्म किसानको सम्मान हुँदैन तबसम्म समृद्धि सम्भव नहुने देखेका महर कृषि र कृषकको मात्रै सम्मान गर्न सके नेपाल समृद्ध हुने ठोकुवा गर्छन।

‘पछिल्लो तथ्यांक अनुसार ८० लाख हाराहारीमा नेपाली युवा विदेशमा पसिना बगाइरहनु भएको छ। विदेशमा बसेका नेपालीहरू सीप, क्षमता, प्रविधि र स्रोतसाधनले पोख्त छन्। देश निर्माणका लागि चाहिने चिज पनि यही हो। यसको सदुपयोग नेपाल भित्रै गर्न सके समृद्ध नेपाल नेपालको सपना साकार हुनसक्छ’, महर भन्छन्, ‘मेरो उम्मेदवार त्यो सीपलाई स्वदेशको हितमा खर्च गर्ने आवाज बनेर म संसद छिर्न चाहन्छु।’

प्रकाशित: Mar 01, 2026| 08:09 आइतबार, फागुन १७, २०८२
प्रतिक्रिया दिनुहोस्