धनगढी। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आलेले जनताको समृद्धिको चाहना पूरा गर्न आफू राजनीतिमा सक्रिय रहेको बताएका छन्। धनगढीमा भएको खुल्ला बहसमा आफ्नो भनाई राख्दै आलेले उक्त कुरा बताएका हुन्।
'राजनीति मेरो पेसा होइन। मेरो ठेक्कापट्टा र शिक्षा क्षेत्रमा लगानी छ। राजनीतिमा त म जनताको सेवा गर्न आएको हुँ। म सुशासनका लागि काम गर्दै भ्रष्टाचारको विरोध गर्ने व्यक्ति हुँ,' उनले भने।
नेता आलेले आफूसँग समृद्ध सुदूरपश्चिम निर्माणका लागि थुप्रै योजना रहेको प्रस्ट पारेका छन्। धनगढीदेखि खुटिया, दिपायल हुँदै उरै भन्ज्याङसम्मको सडक निर्माण गर्न सके सुदूरपश्चिमको विकासका लागि कोषेढुंगा साबित हुने उनको भनाइ छ।
'त्यो भारतका दुई सीमासँग जोडिएको बाटो हो। एउटा गौरीफन्टाको बोर्डर र अर्को बनबासा टनकपुरको बोर्डर। यो सडक उरै भन्ज्याङसम्म जाँदा भारत र चीनका थुप्रै पर्यटक भित्र्याउन सकिन्छ। भारतका १० प्रतिशत पर्यटक मात्र भित्र्याउन सक्यौं भने पनि सुदूरपश्चिमको समृद्धिमा कायापलट हुन्छ,' उनले भने।
त्यसरी आएका पर्यटकले सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय क्षेत्रको अवलोकन गर्ने र उनीहरूको आगमनबाट सुदूरपश्चिमले मनग्य आमदानी हासिल गर्न सक्ने उनको भनाइ छ।
उनले त्यही सडकको प्रयोग गरेर नेपालको उत्पादनलाई अन्तर्राष्ट्रिय करण गर्न सकिने पनि बताएका छन्। 'हाम्रा किसानहरूले उचित बजार र मूल्य पाइरहनु भएको छैन। यो सडकको निर्माण हुँदा उहाँको उत्पादन बाह्य मुलुकसँगको व्यापारसँग जोडिने छ र किसानले बजार नपाउने चिन्ता लिनुपर्ने छैन,' आलेले भने।
यसका साथै उनले धनगढी विमानस्थललाई पनि अन्तर्राष्ट्रिय स्तरको बनाउनु पर्ने र त्यसका लागि आफूले पहल गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय विमानस्थल हुँदा हवाई मार्गबाट पनि विश्वका पर्यटकलाई धनगढी हुँदै सुदूरपश्चिममा भित्र्याउन सकिने उनको भनाइ छ।