काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, सहरी विकास मन्त्री कुमार इङ्नामले निर्माणाधिन संसद भवनको अवलोकन गरेका छन्।
शुक्रबार मन्त्री इङ्नामसँगै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको टोलीले सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको अवलोकन गरेका हुन्।
अवलोकनपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री इङ्नामले चैत्र १ गते जसरी पनि हस्तान्तरणको लागि निर्देशन दिएको बताउँदै तर कामको गति हेर्दा अझैपनि सहज ढंगबाट काम सकिने सम्भावना नदेखिएको जानकारी दिए।
उनले तोकिएको समयमा जसरी पनि निर्माण कार्य पूरा गर्नुपर्ने भन्दै त्यसको कुनै विकल्प नभएको धारणा राखे।
उनले भने,‘यो कामको गति हेर्दा चाँडै निर्माण सम्पन्न हुन्छ नै जस्तो लागेको छैन। चैत्र १ गते जसरी पनि हस्तान्तरण गर्नुपर्छ भनेर निर्देशन दिएको थिए। तर कामको गति हेर्दा त्यो देखिएको छैन। काम अझैपनि सहज ढंगबाट सकिने सम्भावना छैन।’
त्यस्तै अध्यक्ष दाहालले भवन निर्माणको काम जुन गतिमा हुनुपर्ने हो त्यो नभएको बताए। सदन चलाउने बेलासम्म जसरी पनि भवन हस्तान्तरण गर्छौं भन्ने प्रतिक्रिया निर्माण पक्षबाट आएको उनले जानकारी गराए।
उनले भने,‘हामीलाई जुन गतिबाट यो बन्नुपर्छ भन्ने लागिरहेको थियो त्यो चाँही अझसम्म देखिएन। सदन चल्ने कुरा निधो नै भइसक्यो। दुई चार दिन तलमाथि होला तर चुनाव पछि चल्छ नै। त्यो सदन चलाउने बेलासम्म यो बनाउनुपर्छ भनेर धेरै निर्देशन दियौं। पछिल्लो निर्देशनपछि चाँही अलि प्रगती भएकै छ। उहाँहरुले सदन चलाउने बेलासम्म पूरा गर्छौं भन्नुभएको छ।’