रामेछाप। मन्थली नगरपालिका–६ स्थित तामाकोसी नदीमा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई मन्थली नगरपालिकाले तत्काल राहतस्वरूप जनही २० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ।
राहत तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलनमा उत्रिएका पीडितका आफन्तसँग स्थानीय प्रशासनले कानुनबमोजिम पाउने सुविधा उपलब्ध गराउने तथा थप सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो। सहमतिपछि आज पोष्टमार्टम प्रक्रिया सम्पन्न गरी परिवारजनले शव बुझेका छन्।
छलफलमा सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका नेताहरू तथा बस कम्पनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।। प्रशासनले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई न्याय दिलाउन आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ।
मंगलबार काठमाडौंबाट रामेछाप हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ जाँदै गरेको नेपाल अरनिको यातायात सेवा प्रालिको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस तामाकोसी नदीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते भएका चालकलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।