काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको भविष्य निर्माणको निर्णय नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताकाबीच नविनतम सम्झौता आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको साक्षात्कारमा उनले वर्तमान समस्याको समाधान चुनाव नभएपनि एउटा प्रजातान्त्रिक पार्टी भएकाले विद्रोहमा जानुभन्दा चुनावको उपयोग गरौं भनेर होमिएको बताए।
उनले भने,‘जुन निर्वाचनको घोषणा भएको छ त्यो निर्वाचन समस्याको समाधान होइन्। देशमा अर्को विद्रोह नहोस् भन्नको लागि र नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताका बीच नयाँ सम्झौता गरेर मात्र निर्वाचनमा जाने सरकारलाई सुझाव दिएको थियौं। तर जबरजस्त देशलाई पनि निर्वाचनमा धेकेलियो। एउटा प्रजातान्त्रिक पार्टी हुनाको नाताले विद्रोहमा जानुभन्दा चुनावको उपयोग गरौं भने सहभागी भयौं।’
उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देश रहने कि नरहने भन्ने अवस्थामा पुगेको भन्दै राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण राख्ने पार्टी भएकाले मौका पाए देशलाई सफल बनाएरै छाड्ने उल्लेख गरे।
उनले मतदान फेसबुक रिल्स हेरेर दिने कुरा नभई हात काटेर दिने कुरा र शक्ति हस्तान्तरण गर्ने कुरा भएको बताए।
लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे। उनले कसैको लहलहैमा लागेर र प्रलोभनमा परेर मतदान नगर्न आग्रह समेत गरे।