बुधबार, साउन १३, २०८३

रामेछापमा रास्वपा उम्मेदवार बुढाथोकीको घरदैलो अभियान तीव्र

 |  बिहीबार, माघ २२, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०८२

काठमाडौं-  रामेछापबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा उम्मेदवार डा. कृष्णहरि बुढाथोकी यतिबेला जनताको घरदैलो अभियानमा सक्रिय छन्। घर-घर पुगेर मतदाता भेटिरहेका बुढाथोकीले यसपटक आफूलाई घण्टी चिन्हमा मतदान गरेर जिताउन आग्रह गरिरहेका छन्।

उनले रास्वपाले मात्र जनताको परिवर्तनको चाहनालाई पूरा गर्ने भएकाले आफूहरूलाई जिताउन आग्रह गरिरहेका हुन्। घरदैलोका क्रममा स्थानीयसँगको प्रत्यक्ष संवादबाट परिवर्तनप्रतिको चाहना अझ प्रष्ट भएको बुढाथोकीको भनाइ छ।

उनले भाषणभन्दा काम र परिणामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै रामेछापका जनताको आफूप्रतिको भरोसालाई व्यवहारबाट प्रमाणित गर्ने बताएका छन्।

रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकी, नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधव ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट श्याम कुमार श्रेष्ठ ‘कुशल’ उम्मेदवार रहेका छन्।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, उज्यालो नेपाल पार्टी (उनेपा) बाट दीपबहादुर योन्जन, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङ्गी मगर, प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट वीरेन्द्र श्रेष्ठ, नेशनल रिपब्लिक नेपाल पार्टीबाट यमबहादुर मोक्तान, मंगोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट यमनबहादुर बस्नेतले उम्मेदावरी दिएका छन्।

राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीबाट केशरी श्रेष्ठ र आम जनता पार्टी (एकल चुनाव चिन्ह) को तर्फबाट पदमबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेदवारमा अरुण कार्की, बाबुकाजी खड्का र सन्तोष घिमिरे रहेका छन्।

रामेछापबाट १७ जनाले उम्मेदवारी दर्ता गराए पनि मुख्य प्रतिस्पर्धीको रुपमा रास्वपाका डा. बुढाथोकी, कांग्रेसका खड्का, एमालेका ढुङ्गेल र नेकपाका श्रेष्ठलाई हेरिएको छ। 

प्रकाशित: Feb 05, 2026| 13:18 बिहीबार, माघ २२, २०८२
प्रतिक्रिया दिनुहोस्