डडेलधुरा । नेपाली कांग्रेसका नेता एवं डडेलधुराबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नैनसिंह महरले सहिदहरूको सपना र उनीहरूको ऐतिहासिक त्यागको रक्षा गर्नु नै वर्तमान समयको मुख्य दायित्व भएको बताएका छन्।
नेपाली कांग्रेस डडेलधुरा जिल्ला समितिले सहिद दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले उक्त कुरा बताएका हुन्।
'सहिदको सपना र सहिदको त्यागको रक्षा गर्नुपर्ने छ। आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार वीर सहिदहरूको रगतको जगमा प्राप्त भएको हो,' उनले भने।
वर्तमान अवस्थामा सहिदहरूको ऐतिहासिक बलिदानीको रक्षा गर्नु चुनौतीपूर्ण रहेको उनले औंल्याए। 'सहिदहरूको बलिदानबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न सके मात्र सहिदहरूप्रति सच्चा सम्मान हुन्छ,' उनले भने।
यसका साथै, लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस सधैँ चट्टान जस्तै उभिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
नेता महरले सहिदहरूले देखाएको बाटोमा लाग्न कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका थिए।
कार्यक्रममा महरले पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, संस्थापक नेता एनडि प्रकाश चटौत, क्रान्तिकारी नेता भिमदत्त पन्त र दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिका देवि ठकुरानीलगायतको योगदानको चर्चा गरेका थिए।
कार्यक्रममा जिल्ला स्थित कांग्रेस नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। उनीहरूले सहिदहरूको तस्बिरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।