काठमाडौं । पछिल्लो एक दशकदेखि सचिन तिमिल्सिना युवा राजनीति, नागरिक स्वतन्त्रता, लोकतन्त्र र सामाजिक न्यायका सवालमा निरन्तर हस्तक्षेपकारी भूमिकामा सक्रिय रहँदै आएका छन्। २०१७ देखि २०२४ सम्म युथ कांग्रेस नेपालको अध्यक्षको जिम्मेवारी सम्हाल्ने क्रममा उनले युवालाई केवल नारामा सीमित नराखी नीति निर्माण र लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष जोड्न पहल गरेका थिए ।
उनकै नेतृत्वमा सम्पन्न नेपाली कांग्रेस नीति २०८० नेपाली राजनीतिमा ऐतिहासिक अभ्यास बन्यो, जहाँ गिग इकनोमी र जलवायु परिवर्तनसम्बन्धी युवाले तयार गरेका नीति पत्रहरू संसदीय दलसम्म पुगेर पार्टीको नीति प्रक्रियामा समावेश भए ।
नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको पक्षमा सामाजिक सञ्जाल निर्देशिका–२०७७, प्रतिनिधिसभा विघटन र विभिन्न नागरिक आन्दोलनहरूमा उनी स्पष्ट रूपमा उभिए ।
सत्तामुखी होइन, प्रणाली सुधारमुखी राजनीतिक सोच बोकेका सचिन तिमिल्सिनाको पहिचान युवालाई भीड होइन, निर्णयकर्ता बनाउने नेतृत्वका रूपमा स्थापित हुँदै गएको छ ।
यसैविच, सभापति गगन थापाले जित्दै आएको काठमाडौं–४ मा यस पटक तिमल्सिना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्। उक्त क्षेत्रमा निरन्तर जित्दै आएका सभापति थापा यो पटक काठमाडौं ४ छोडेर सर्लाही–४ पुगेपछि थापाको क्षेत्रमा सचिन भिड्दैछन्।
उनले अहिले घरदैलो अभियान र युवाहरु संगको भेटलाई तिब्र बनाइरहेका छन्। सचिनले गगनको विरासत धान्न सक्लान या नसक्लान त्यो भने फागुन २१ पछिनै थाहा हुने छ।