काठमाडौं-नेपाल अटोमोबिल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले इन्स्टिच्युट अफ इन्जिनियरिङ, थापाथली क्याम्पससँगको सहकार्यमा आफ्नो मासिक मोबिलिटी संवादको नवौँ श्रृङ्खला आयोजना गरेको छ।
क्याम्पस प्रमुख डा. खेम ज्ञवलीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो। यसमा पूर्णरुपमा खण्डित गाडी पुर्जा (सीकेडी) सवारीसाधन असेम्ब्ली अवसर, चुनौती र आगामी दिशाबारे छलफल भएको नाइमाले जनाएको छ।
क्याम्पस प्रमुख ज्ञवालीले थापाथली क्याम्पसले लामो समयपछि यति महत्वपूर्ण उद्योग-शिक्षा सहकार्यमा आधारित कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले यस्ता संवादहरू व्यावहारिक सिकाइ, अनुसन्धान तथा उद्योगसँग सहकार्य विस्तारका लागि वास्तविक आवश्यकता भएको उल्लेख गर्दै कार्यक्रमको महत्वपूर्ण पहलका लागि नाइमा र अटोमोबाइल एन्ड मेकानिकल इन्जिनियरिङ स्टुडेन्ट्स इन्नोभेटिभ नेक्सस (एएमईएसआईएन)लाई धन्यवाद दिए।
करिब २०० जना सहभागी कार्यक्रममा प्राविधिक प्रस्तुति तथा प्यानल छलफल आयोजना गरिएको थियो। प्राविधिक प्रस्तुतिको सहजीकरण थापाथली क्याम्पसका सहायक प्राध्यापक इ.लोचन केन्द्र देवकोटाले गरेका थिए। प्यानल छलफलमा यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छा, तथा थापाथली क्याम्पसका डेपुटी इन्स्ट्रक्टर इ.लक्ष्मण पालिखेल सहभागी थिए।
कार्यक्रममा इन्जिनियर देवेन्द्रबहादुर राउत, प्रमुख, अटोमोबिल एन्ड मेकानिकल इन्जिनियरिङ विभाग तथा नाइमाका सदस्य एवं सारडा ग्रुपका निर्देशक गौरव सारडाले गरेका थिए। आफ्नो मन्तव्यमा इ. राउतले राष्ट्रिय विकासका लागि स्थानीय उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै प्राज्ञिक र औद्योगिक क्षेत्रबीच अझ बलियो सहकार्य आवश्यक रहेकोमा जोड दिए। नाइमा सदस्य सारडाले सीकेडी भेहिकल असेम्ब्ली मेक इन नेपाल नीतिसँग जोडिएको व्यावहारिक औद्योगिक मोडेलका रूपमा प्रस्तुत गर्दै, यसले दक्ष जनशक्ति विकास, युवा रोजगारी सृजना, प्रविधि स्थानान्तरण तथा स्थानीय आपूर्ति श्रृङ्खलाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे।
प्यानल छलफलका क्रममा वक्ताहरूले मानव स्रोत विकास, प्रविधि सुदृढीकरण र नीतिगत स्थायित्व बिना दिगो औद्योगिक विकास सम्भव नहुनेमा जोड दिए। भारत, चीन, ब्राजिल तथा अफ्रिकी मुलुकहरूको अनुभवले सीकेडी भेहिकल असेम्ब्लीलाई औद्योगीकरणको प्रारम्भिक आधारका रूपमा सफल देखाएको उल्लेख गर्दै मेक इन नेपाल सन्दर्भमा यसको दीर्घकालीन सम्भावनाबारे चर्चा गरियो।
कार्यक्रमको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए। उनले नाइमा मोबिलिटी संवादलाई आगामी दिनहरूमा अझ फराकिलो सहकार्य र युवा सहभागिता अभिवृद्धिसहित निरन्तरता दिइने जानकारी गराउँदै यसको दशौँ शृंखला आईओई पुल्चोक क्याम्पसमा आयोजना गर्ने योजना रहेको बताए।
समापन मन्तव्य काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी तथा नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले दिएका थिए। एसएसपी अधिकारीले चालक, ट्राफिक प्रहरी तथा सरोकारवालाहरूलाई आधुनिक सवारीसाधन प्रविधिबारे शिक्षित गर्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उदीयमान सवारी प्रविधि तथा सफ्ट स्किल्ससम्बन्धी तालिम उपत्यकाका सम्पूर्ण ट्राफिक प्रहरीलाई प्रदान गर्ने नाइमाको पहलको उच्च प्रशंसा गरे। साथै, हालै ट्राफिक प्रहरी कार्यालयमा भएको क्षतिपछि नाइमाले गरेको सहयोगप्रति उनले आभार व्यक्त गरे।
नाइमाकी बोर्ड सदस्य यमुना श्रेष्ठले सीकेडी भेहिकल असेम्ब्ली, नीतिगत स्पष्टता तथा शैक्षिक संस्था, सरकार र निजी क्षेत्रबीचको सहकार्यले मात्र नेपालको अटोमोबिल उद्योगलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने धारणा राखिन्।
उनले मोबिलिटी संवादजस्ता संवादात्मक पहलहरूले ज्ञान आदान-प्रदान, नीतिगत समझदारी र दीर्घकालीन औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। नीतिनिर्माता, अटोमोबिल उद्योगका प्रतिनिधि, शैक्षिक विज्ञ, ट्राफिक प्रहरी, सञ्चारकर्मी, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको यस कार्यक्रममा खुला अन्तरक्रिया तथा प्रश्नोत्तर सत्रसमेत सञ्चालन गरिएको थियो। विद्यार्थी संगठन एएमईएसआईएनको संयोजनमा सम्पन्न यस कार्यक्रममा सीकेडी भेहिकल असेम्ब्लीमार्फत रोजगारी सिर्जना, सीप विकास, उत्पादकत्व वृद्धि र स्वदेशमै मूल्य श्रृङ्खला विस्तार गर्ने सम्भावनाहरूबारे गहन छलफल गरिएको थियो।
नाइमाले यस्ता संवादहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। मोबिलिटी तथा अटोमोबाइल क्षेत्रसम्बन्धी समसामयिक विषयमा जानकारी प्रदान गर्ने, सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने तथा नीतिगत तथा संरचनागत चुनौतीहरूमा सहकार्यात्मक समाधान खोज्ने उद्देश्य रहेको जनाएको छ।