काठमाडौं- तामा र ढलोटलाई सुन भनेर सार्वजनिक गर्ने धादिङका प्रहरी प्रमुख एसपी डम्बरबहादुरलाई कारबाही गरिएको छ । उनलाई बुधबार जिम्मेबारीमुक्त गर्दै कारबाही प्रक्रिया सुरु गरिएको हो ।
अभियुक्तलाई सामान्य सोधपुछसमेत नगरी सुन भनेर सार्वजनिक गर्दा प्रहरीको बेइज्जत भएको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले उनलाई कारबाही गरेको हो । उनलाई धादिङबाट सरुवा गरिएको छ भने उनको ठाउँमा एसपी राजकुमार बैदवारलाई पठाइएको छ।
२० पुसमा धादिङ प्रहरीले चार केजी सुनसहित तीन व्यक्तिलाई पक्राउ गरिएको भन्दै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको थियो । पछि राजस्व अनुसन्धान विभागले परीक्षण गर्दा उक्त धातु ढलोट र तामा भएको खुलेको थियो।
धातु साटफेर नभई एसपीले सामान्य अनुसन्धान नै नगरी सुन भनेर सार्वजनिक गर्दा समस्या भएको प्रारम्भिक छानबिनको निष्कर्ष छ। यो घटनालाई धेरैले शंकास्पद नजरले हेरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४