बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्छः उपराष्ट्रपति यादव

सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्छः उपराष्ट्रपति यादव

 |  सोमबार, पुस १४, २०८२

नेपाल समय

नेपाल समय

सोमबार, पुस १४, २०८२

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन्।

आज यहाँ राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना २०८२–२०८७’ तथा ‘नयाँ उजूरी व्यवस्थापन प्रणाली’ सार्वजनिकरण समारोहमा उनले न्याय, अवसर, समानता र समावेशिताको मार्गमा दलित समुदायको अधिकार थप सुदृढ गरिनुपर्नेमा जोड दिए।

उपराष्ट्रपति यादवले रणनीतिक योजना दीर्घ दृष्टिअनुरूप तयार गरिने उल्लेख गर्दै यसले दलित समुदायका समस्या समाधानका साथै सभ्य र समुन्नत समाज निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले भने, 'नयाँ उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भले दलित समुदायका मुद्दा, गुनासा र अधिकारसम्बन्धी प्रश्नहरूलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने मार्ग प्रशस्त गर्न सकोस्।'

उपराष्ट्रपति यादवले आयोगको संस्थागत सुदृढीकरण, नीति तथा कानुनहरूको पालना, अनुसन्धानमा आधारित सुधार, जातीय भेदभाव तथा छुवाछूतमा कमी ल्याउने प्रयास, राज्यका सबै अङ्गमा दलित समुदायको सहभागिता सुनिश्चित गर्ने कार्य तथा अन्तरराष्ट्रिय सन्धि–सम्झौतामा सहकार्य र जवाफदेहिता जस्ता प्राथमिकतालाई अघि बढाउन रणनीतिक योजना सहयोगी बन्ने अपेक्षा व्यक्त गरे।

'समाजमा विद्यमान विभिन्न कुरुती, विसङ्गति र विभेद हटाउन आयोग कटिबद्ध रहनुपर्ने आवश्यकता छ। साथै दलित–दलितबीचको विभेद हटाउन पनि आयोगले अग्रसरता देखाउनुपर्छ', उनले भने, 'यसका अतिरिक्त मधेसमा दलित–गैरदलितबीच उत्सव, चाडपर्व र महोत्सवमा देखिने सहकार्य र सहअस्तित्वलाई प्रचारप्रसार गर्न सके दलित समुदायप्रतिको सम्मान, सद्भाव र समरसता बढ्ने छ।'

तराई–मधेसका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीति आदिमा सीमान्तकृत अवस्थामा रहेको उल्लेख गर्दै उनले उनीहरूलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउनुपर्नेमा जोड दिए।

प्रकाशित: Dec 29, 2025| 18:39 सोमबार, पुस १४, २०८२
प्रतिक्रिया दिनुहोस्