काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँगको छलफलमा चुनावका लागि सहयोग गर्न आग्रह गरेकी छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा प्रधानमन्त्री कार्कीले चुनावको निम्तो दिँदै त्यसका लागि सहयोग गर्न आग्रह गरेकी हुन्।
उनले आफ्नो निमन्त्रणा स्वीकारेर बालुवाटार आएकोमा नेताहरूलाई धन्यवादसमेत दिएकी थिइन्। त्यस क्रममा उनले भनिन्, ‘यो घर तपाईंहरूकै हो। म त न्याय क्षेत्रको मान्छे। राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाएबमोजिम हामी चुनावको तयारी गरिरहेका छौं। तपाईंहरू पनि त्यसको पनि सहयोगको खाँचो छ।’
उनले प्रशासनिक कामकारबाहीबाट अलग भएर पूरै निर्वाचनमा होमिनकै रक्षाबाहेक आफूसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको उनले बताइन्।
‘मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं। सबै यसमा सहभागी हुनुपर्छ। तपाईंहरू निर्वाचनका लागि तयारै हुनुहुन्छ भन्ने नै मैले देखेकी छु। त्यस्तो वातावरण बनिरहेको देख्छु। यो स्वागतयोग्य छ,’ उनले भनिन्।
उनले निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएको बताएकी छन्। ‘हामीले उहाँहरूलाई भने जति नै स्रोतसाधनको व्यवस्था गरेका छौं।
सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरूले पनि महसुस गर्नुभएकै होला। हामी त्यसरी काम गरिरहेका छौं,’ उनले भनिन्।
अब कुनै अलमल नगरी यो राष्ट्रको भविष्य सम्झेर, स्थिर र दीगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्न उनको आग्रह छ। ‘चुनाव सफल पार्नु हामी सबैको जिम्मेवारी हो। यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ,’ उनले भनिन्।