काठमाडौं- नेपाल प्रहरीको कन्ट्रोल नं १०० मा फोन गरी विभिन्न स्थानमा घटना भइरहेको भन्ने झुटो सूचना दिने दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ घर भई काठमाडौं गोकणेश्वर नगरपालिका-४ बस्ने ३५ बर्षिया राजु लामा र धनकुटा हिले घर भई काठमाडौं गोकणेश्वर नगरपालिका- ४ बस्ने २२ बर्षिया सरिता बस्नेत छन्। उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले गोकणेश्वरबाट पक्राउ गरेको हो। उनीहरुले यस अघि मदिरा सेवन गरी प्रहरीलाई गलत सूचना दिएको महाशाखाले जनाएको छ।
प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरि गलत सूचना दिएपछि प्रहरीले उनीहरुलाई त्यसो नगर्न पटक-पटक सचेत गराएको र त्यसको बेवस्ता गर्दै प्रहरीलाई नै अश्लील गाली गालौज गरेपछि उनीहरुलाई पक्राउ गर्नु परेको महाशाखाले जनाएको छ। पक्राउ परेका दुवैजनामाथि अनुसन्धान भइहेको महाशाखाको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४