काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताएका छन्।
बुधबार काठमाडौंमा सम्पादकहरूसँगको छलफलका क्रममा पोखरेलले आफूले कुनै झोंकमा पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेको नभइ कार्यसम्पादनको शैलीलाई सहि दिशामा फर्काउन र सामूहिक नेतृत्व प्रणालीलाई सुदृढ गर्न उम्मेदवारी घोषणा गरेको बताएका हुन्।
उनले आफू पार्टी नेतृत्वमा उठ्ने विषय पार्टीको औपचारिक बैठक र अध्यक्षलाई समेत जानकारी गराएको बताए। पोखरेलले पार्टी र आन्दोलनको हितलाई केन्द्रमा राखेर आफूहरु अघि बढ्ने स्पष्ट पारे।
उनले निर्वाचनमा भाग लिइसकेपछि त्यसको परिणामलाई स्वीकार गर्न आफु तयार रहेको भन्दै भीम रावल र माधव नेपालको जस्तो दृष्टान्त आफुहरुमा लागू नहुने जिकिर गरे।
पोखरेलले महाधिवशेनको हलमा वर्तमान अध्यक्ष केपी ओलीले आफु संरक्षकको भूमिकामा रहेर अरु कसैलाई पार्टीको नेतृत्वमा अघि सारे सहमति हुन सक्ने बताए। तर, केपी ओलीले नै अध्यक्षमा दावी कायमै गरे सहमति हुन नसक्ने उनको भनाइ छ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगप्रति केहि असन्तुष्टि रहेपनि आयोगले बोलाउँदा अध्यक्ष केपी ओली बयान दिन जानुपर्ने समेत बताए।