काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय ६ जनामा सीमित गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौँ संशोधन २०८१) मा कुल ६६ जनाको दरबन्दी रहे पनि यसअघि नै अति आवश्यक २० जनामा सीमित गरी मितव्ययी रूपमा सञ्चालन गरिँदै आएको तर जेन जेड युवा पुस्ता तथा विभिन्न पक्षबाट निरन्तर उठेका प्रश्न र सुझावलाई ध्यानमा राख्दै प्रधानमन्त्रीले सचिवालयलाई थप सानो र प्रभावकारी बनाउने निर्णय गरेको जनाइएको छ।
अब मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्वकीय सचिव १, प्रेस संयोजक १, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) १ र जनस्वास्थ्य विज्ञ (अवैतनिक) १ गरी जम्मा ६ जना मात्र कायम रहनेछन् भने बाँकी सबै पदको नियुक्ति आगामी मंसिर ११ गतेदेखि लागू हुनेगरी खारेज गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता हेमराज अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले परिवारका सदस्य र नातेदारहरूलाई सचिवालयमा नियुक्ति दिलाएको भन्दै चौतर्फी आलोचना भएको थियो। त्यससँगै विभिन्न जेन जेड समूहहरूले सिंहदरवार भित्रै तथा बाहिर प्रदर्शनसमेत गरिएको थियो। त्यससँगै आज प्रधानमन्त्रीले सो निर्णय गरेकी हुन्।