बिहीबार, साउन १४, २०८३

अभिभावक विहीन नेपाली क्रिकेटले रचेका दुई इतिहास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्ष भइसक्यो। तर, यस बीचमा राष्ट्रिय टोलीले दुईवटा ऐतिहासिक सफलता मात्रै हात पारेको छैन, वर्षौदेखिको विश्व क्रिकेटमा एकछत्र राज गरेका भारतीय र पाकिस्तानी खेलाडीले राखेको विश्व कीर्तिमान समेत तोडे। 

साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यान विवादले उग्ररूप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । त्यसयता नेपाली क्रिकेट नेतृत्वविहीन अवस्थामा छ । 

क्रिकेट सङ्घ निलम्बनकै अवस्थामा गत वर्षमात्र एक दिवसीय मान्यता पाएको नेपालले अहिले एक दिवसीय शृङ्खला नै जितेर विश्व क्रिकेटको ध्यान आफूतिर तानेको छ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला जित्दै नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको हो । 

आइसिसीबाट एक दिवसीय मान्यता पाएपछि नेपालले यसअघि गत असारमा नेदरल्याण्ड्ससँग ‘डेब्यु’ (पहिलो) एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । उक्त शृङ्खला १-१ कव बराबरीमा सकिएको थियो । 

क्यानको विवाद तथा नेतृत्वविहीन अवस्थामा पनि नेपालले दुईवटा ऐतिहासिक उपलब्धि हासिल गर्नु गर्वको विषय भएको राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासले बताए । “आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकार निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस्”, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेले भने । 

नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटाले घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरूको हेरचाहलगायतमा ध्यान जानु जरुरी रहेको बताए । क्रिकेटको विकासका लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । 

नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा 

नेपालले गत वर्ष मात्र चार वर्षका लागि एकदिवसीय क्रिकेटको मान्यता पाएको थियो । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसिएट राष्ट्रको मान्यता पाएको थियो । २०७३ वैशाखमा क्यान निलम्बनमा परेपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् भने नेपाली क्रिकेटको व्यवस्थापकीय पक्ष सबै आइसिसीले हेर्दै आएको छ । निलम्बन फुकुवाको विषयमा लामो समयदेखि पहल शुरु भए पनि त्यसले सार्थकता पाउन सकेको छैन । 

आइसिसीले निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न बारम्बार आग्रह गरेपछि निलम्बित नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिन निवेदन दर्ता गराएको छ । “आइसिसीले निलम्बन फुकुवाका लागि राखेको शर्त हामीले पूरा गरिसकेका छौँ, फेबु्रवरीमा आइसिसीको बोर्ड बैठक बस्दैछ, सोही बैठकले निलम्बन फुकुवा गर्नेमा हामी विश्वस्त छौँ”, निलम्बित क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने ।  

२०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो । त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो । 

सन् २००२ मा सिङ्गापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता बन्यो । उपाधि युएईले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो । 

त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन-५ खेल्न जर्सीको भ्रमण गर्यो । समूह ‘ए’ को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । 

सन् २०१० को फेब्रुवरीमा काठमाडौँमा सम्पन्न डिभिजन-५ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन-४ मा नेपाल तेस्रो हुँदै ‘रेलिगेसन’बाट जोगियो । सन् २०१२ मा डिभिजन-४ जितेर डिभिजन-३ मा उक्लिएको नेपाल सन् २०१३ को मार्चमा सम्पन्न डिभिजन-३ मा पनि विजेता बन्दै डिभिजन-२ मा उक्लियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।