शुक्रबार, साउन १५, २०८३

आयोगमा नयाँ दल दर्ता र खारेजीको क्रम जारी

 |  आइतबार, कात्तिक ३०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०८२

काठमाडौं । निर्वाचनमा आयोगमा नयाँ दल दर्ता र पुराना दल खारेजीको क्रम जारी रहँदा आजसम्म १२२ दल कायम रहेका छन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणा भएको मिति गत भदौ २७ पछि सात नयाँ दल दर्ता र पुराना सात दल खारेज भई एक सय २२ राजनीतिक दल कायम रहेको जानकारी दिए।

निर्वाचन आयोगले नयाँ दल दर्ताको निवेदन दिने आज अन्तिम दिनसम्म निवेदनको क्रम चलेकाले ती नयाँ आवेदनबारे आवश्यक कागजात हेरेर आयोगले चाँडै निर्णय गरी दल दर्ताको प्रमाणपत्र दिनेछ।

अहिले आयोगमा २८ नयाँ दलको निवेदन विचाराधीन छ। आयोगको कार्यतालिका अनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म पुराना र नयाँ सबै दलले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बेग्लै दल दर्ता गर्नुपर्नेछ। यसका लागि आयोगले सूचना प्रकाशन गरिसकेको छ।

हालै एकताबाट निर्मित नेपाली कम्युनिष्ट पार्टीलाई आयोगले दल दर्ताको प्रमाणपत्र प्रदान गरेपछि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितका दलहरु समायोजित भई दलको सङ्ख्या घटेको हो।

आयोगले नागरिकको चापलाई ध्यानमा राखेर मतदाता नामावली दर्ता र अद्यावधिकको कार्यको अवधि आजसम्म निर्धारण गरिएकामा थप गरेर आगामी मङ्सिर ५ गतेसम्मका लागि कायम राखेको छ।

राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको छ। आयोगले शनिबार यो कार्य जारी राखेको थियो।

प्रकाशित: Nov 16, 2025| 20:45 आइतबार, कात्तिक ३०, २०८२
प्रतिक्रिया दिनुहोस्