काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गरेको छ।
छलफलमा आयोगले प्रस्तावित निर्वाचन कार्यक्रम र मतदाता नामावली अद्यावधिकबारे जानकारी गराएको थियो भने राजनीतिक दलहरूले सुरक्षा व्यवस्था, निर्वाचन वातावरण, आचारसंहिता पालना र खर्च मितव्ययी बनाउन सुझाव दिएका थिए।
राजनीतिक दलबाट प्राप्त सुझावहरुको सम्बोधन गर्दै आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ उम्मेदवार र मतदाताले निर्वाध सहभागिता जनाउन सक्ने वातावरण सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताए।
प्रमुख आयुक्त भण्डारीले आयोगले तयार पारेको निर्वाचन आचारसंहिता मस्यौदा वेबसाइटमा राखिएको र राजनीतिक दललाई इमेलमार्फत पठाइएको जानकारी दिँदै, सुझाव भएमा शीघ्र उपलब्ध गराउन आग्रह गरे।
कार्यक्रममा आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, सचिव महादेव पन्थलगायतको उपस्थिति थियो।