अछाम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी निर्वाचनको वातावरण निर्माणमा सबै पक्ष सक्रिय हुनुपर्नेमा जोड दिएका छन्।
बुधबार अछाममा आयोजित जिल्लाका पालिका प्रमुखहरू, संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरू तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले मुलुक निर्वाचनको दिशामा अघि बढिसकेको भन्दै राजनीतिक र प्रशासनिक सबै निकायले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए।
प्रधानमन्त्रीले केही दिनअघि सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग गरेको भेटघाटको प्रसंग उल्लेख गर्दै मुख्यमन्त्री शाहले भने, 'प्रधानमन्त्रीज्यू संविधान, व्यवस्था र संघीयताप्रति पूर्ण प्रतिबद्ध देखिनुभएको छ।' नले वर्तमान सरकारले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरी सोहीअनुसार तयारी अघि बढाइरहेको जानकारी दिए।
मुख्यमन्त्री शाहले भने, 'जनआन्दोलनपछि बनेको सरकारको पहिलो दायित्व निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गराउनु हो। त्यसका लागि सरकारले शान्ति–सुव्यवस्था कायम गर्नुपर्छ र जनतालाई सुरक्षाको प्रत्याभूति दिनुपर्छ।'
उनले जनप्रतिनिधि र प्रशासनिक नेतृत्वबीच आरोप–प्रत्यारोप होइन, विश्वास र सहकार्यको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए।
भ्रमणका क्रममा मुख्यमन्त्री शाहले अन्तरतह कार्यालयबीचको सम्बन्ध र सहकार्यको अवस्था, ऐन–कानुनमा देखिएका समस्या, योजना कार्यान्वयनको स्थिति र शान्ति–सुरक्षाको अवस्थाबारे समेत जानकारी लिएका थिए।