बिहीबार, साउन १४, २०८३

कोठियालयभित्रको ‘चित्कार’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौ‌ – नेपालगञ्जका चित्रकार सुरजजान सुवेदीलाई केही वर्षअघि भारतमा कोठीमा नेपाली चेलीको अवस्था बुझन् मन लाग्यो। सामान्य रुपमा कोठीमा जान सहज थिएन। त्यसैले उनी ग्राहक बनेर लखनउको कोठीमा गए। त्यहाँभित्र भएका नेपाली चेलीसँग अन्तरङ्ग कुरा गरेर सकेजतिका स्केच कोरे। उनीहरुको पीडा सङ्गालेर फर्किए। 

‘कोठीमा यस्तो कारुणिक चित्कार थियो, त्यही चित्कार मेरा चित्रमा झल्किरहेको छ, तपाइँले हेर्दा नै महसुस गर्न सक्नु हुन्छ,’ नेपाल कला परिषद्मा राखिएको आफ्नो चित्र देखाउँदै सुवेदीले भने। 

परिषद्मा भर्खरै ललितकलाबाट स्नातकोत्तर पास गरेका १० विद्यार्थीका चित्र छन्। ‘सङ्गालो’ नाम दिइएको चित्र प्रदर्शनीमा फरकफरक विधामा चित्रकारले क्यानभास रङ्ग्याएका छन्। 

चित्रकारहरुले आ–आफ्नो चित्र प्रदर्शनी स्थलमा ‘इन्स्टलेसन आर्ट’ समेत राखेका छन्। ट्राफिक सचेतनाका दृष्य, सडक बालबालिकाको अवस्था, रहरको शहर तथा संस्कार संस्कृति र मौलिक पेशालगायत विभिन्न विधाका दृष्य चित्रमा छन्। 

प्रदर्शनीमामा राखिएका चित्रमध्ये धेरैको मन छुने र वर्तमान परिवेशमा मिल्दो सुवेदीका चित्र छन्। एउटा तस्वीरमा कोठियालयभित्रकी एक महिला धेरै व्यक्तिबाट बलात्कृत भएकाले शिथिल अवस्थामा छिन्। नजिकै रहेका अन्य युवतीमा अनिच्छुक सम्बन्धका कारण विवशता झल्किने राताराता आँखासहितका कारुणिकता भेटिन्छ। एउटा मानवरुपी कछुवा त्यहाँ पुगेर उनीहरुको अवस्था बाहिर ल्याउने प्रयास गर्दैछन्। अर्को चित्रमा एक युवतीलाई मोलमोलाई (लिलाम) गरिँदै छ। 

कोठीभित्र हुने क्रियाकलापलाई सुवेदीले ६ वटा क्यानभासमा दुरुस्तै पारेका छन्। नेपाली चेली कोठीमा कसरी दिन बिताउँछन् भन्ने कुरा चित्रमा देखिएको छ। ‘साना बालिका पनि कोठीमा देखें, उनीहरुलाई यौन उत्तेजना बढाउन सुई दिने गरिएको पाइयो, यस्ता दृष्यले मन छोयो,’ सुवेदीले चित्र कोर्नुको उद्देश्यबारे बताउँदै भने, ‘एउटा कलाकारको पनि समाज सुधारमा जिम्मेवारी हुन्छ नि, मैले त्यही भूमिका निभाएको हुँ।’ 

उनका अनुसार नेपाली चेली अब त हाम्रो जिन्दगी नै यही कोठीमा बित्छ, हाम्रो संसार यही नै हो भनेर विवशताका कुरा गरेकाले चित्रमार्फत उनीहरुको चित्कारलाई प्रतिविम्बित गरेर समाजलाई सन्देश दिन खोजेको सुवेदीले बताए। ‘यो चित्र सरकार र हामी सबैका लागि ध्यानाकर्षण पनि हो,’ उनले भने। 

चौध वर्षदेखि चित्रकलामा लागेका सुवेदीले केही महीनाअघि बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको चित्रसमेत कोरेर न्यायको सन्देश दिन खोजेका थिए। 

नजिकै सन्तोष राईका चित्र सङ्गालो छ। उनले चुलोको ‘इन्स्टलेसन आर्ट’ निर्माण गरेर संस्कृति संस्कार परिवर्तन भइरहन्छन्, यो व्यावसायिक पनि भइरहनुपर्छ भन्ने सन्देश दिँदै चित्र कोरेका छन्।  

भर्खरै व्यावसायिक चित्रकारिता सुरु गर्न थालेका उनले चुलोलाई होमादी कुण्डको रुपमा परिभाषित गर्नुहुँदै भने, ‘यही चित्रले मेरो चुलो बल्नुपर्छ, चुलो बलेन भने मेरो अस्तित्व नै रहँदैन, प्रतीकात्मक स्वरुप चुलो निर्माण गरिएको हो।’

कीर्तिपुरका रामचन्द्र महर्जनले रहरको शहर निर्माण गरेका छन्। इन्स्टलेशन आर्टमा अन्न फल्ने क्षेत्रमा घर फलिरहेको दृष्य राखेर उनले विकृतियुक्त वर्तमान शहरका चित्रलाई पनि क्यानभासमा उतारेका छन्। ‘संस्कृति हराउँदै गयो, शहर कुरुप बने, यसमा ध्यान दिऔं भन्ने नै सन्देश हो’ महर्जनले भने। 

सुरेश बस्नेतले ट्राफिक सन्देशसहितका चित्र कोरेका छन्। राष्ट्र कार्कीले ठमेलदेखि वसन्तपुरसम्मका सडक बालबालिकाको अध्ययन गरेर उनीहरुको कथालाई चित्रमा समावेश गरेर प्रस्तुत गरेकी छन्। टिबी थापा मगरले रङको ‘इन्स्टलेसन’ चित्र बनाई एउटा आमालाई पृथ्वीको प्रतिनिधि पात्र बनाएर चित्र कोरेका छन्। सबैले देशमा कुनै न कुनै बार लगाएर साँघुरो बनाउँदै लगेकाले समस्या बढ्दो छ भन्ने सन्देश उनको चित्रमा छ। 

सङ्गालोमा चित्रकारहरु सुरक्षा वाग्ले, निशा शर्मा, हरिओम मेहता, सन्तोष राई, रामचन्द्र महर्जन, सुरेश बस्नेत, टिवी थापा, सुरजजान सुवेदी, कुमार दोर्जे लामा र राष्ट्र कार्कीका चित्रहरु छन्। नारायण ढुङ्गाना/रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।