काठमाडौं । सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।
सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षक पदमा नियुक्त गरेको हो।
२७ कात्तिकमा हाल नेपाल प्रहरी प्रमुख चन्द्रकुबेर खापुङ अवकाशमा जानुअघि सरकारले कार्कीलाई आईजीपी नियुक्त गरेको हो। चारजना प्रतिस्पर्धीमा वरिष्ठतम् रहेका कार्कीलाई सरकारले आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए।
कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। आईजीपी प्रतिस्पर्धामा एआईजीहरू राजन अधिकारी, मनोजकुमार केसी र सिद्धिविक्रम शाह थिए।
कार्की २०५४ सालमा प्रहरी निरीक्षक पदमा भर्ना भएका हुन्। गुल्मीमा जन्मिएका उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्न गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषदमा सिफारिस गरेका थिए।
कार्की डीआईजी हुँदा लुम्बिनी प्रदेश प्रहरी कार्यालय र केन्द्रीय प्रहरी प्रवक्ताको रूपमा कार्यरत थिए। एसएसपी हुँदा उनले काठमाडौं प्रहरी परिसरको जिम्मेवारी सम्हालेका थिए। उनी इमानदार प्रहरी अधिकृतको छवि बनाएका अधिकृत हुन्।