काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई सपथ ग्रहण गराएको विषयको विरोध गरेका छन्।
सोमबार मधेस प्रदेशमा हिजो राति अबेरदेखि हुदै गरेको अनपेक्षित राजनीतिक घटनाक्रमवारे धारणा राख्दै सुवेदीले बर्दिबासको एउटा रिसोर्टमा अन्य दल, संवैधानिक आयोग र नियोगको उपस्थितिबिना यादवलाई सपथ ग्रहण गराएको भन्दै यो संविधान मान्ने कुनैपनि राजनीतिक दललाई स्वीकार्य नहुने बताए।
उनले भने, ‘मधेश प्रदेशको प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीजीले मुख्यमन्त्रीको जिम्मेवारीमा रहनु भएका जितेन्द्र सोनलजीलाई मध्यरातमा मेरो स्वास्थ्य अवस्था ठिक छैन्, काठमाडौं जानुपर्यो भनेर खबर गर्नुभयो। तर बर्दिबासको एउटा रिसोर्टमा आएर नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई असंवैधानिक रुपमा सपथ गराउनु भयो। यसको हामी विरोध गर्दछौ।’
यस्तै, उनले यसप्रकारको कामलाई राष्ट्रघाती, संविधान विरोधी र नेपालमा संघीयताको अभ्यासलाई नियतबस कमजोर पार्न खोज्ने एउटा कू–प्रयासको रुपमा लिएको बताए।
सुवेदीको कदम विरुद्ध जसपालगायत सात दलीय गठबन्धनका सांसद तथा पार्टीका कार्यकर्ताहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड पनि गरेका छन्।
उनीहरुले प्रदेश प्रमुखको नाम लेखेको नेमप्लेट र मुख्य प्रवेशद्वार बाहिर रहेको गमला लगायतका सजावटका सामानहरू तोडफोड गरेका हुन्।
सो क्रममा उनीहरुले प्रदेश प्रमुख मुर्दाबाद, एकलौटी गर्न पाइँदैन लगायतका नारासमेत लगाएका छन्। अवस्था नाजुक भएपछि मधेस भवनभित्र व्यापक मात्रामा प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो।