सोमबार, कात्तिक १७, २०८२

महाधिवेशनसम्बन्धी सहमति हुन नसक्दा कांग्रेस बैठक स्थगित

 |  आइतबार, कात्तिक १६, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक १६, २०८२

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ। कार्यसमितिको अर्को बैठक यही कात्तिक १८ गते मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Kumaribank

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। पार्टीको १५औँ महाधिवेशनको मिति तोक्नेसम्बन्धी प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस गर्ने बारेमा संस्थापन र संस्थापनइतर पक्षबीच सहमति हुन नसक्दा बैठक स्थगित भएको हो। यसअघि पनि शुक्रबारको बैठक यसरी नै स्थगित गरिएको थियो।

कांग्रेसमा वर्तमान सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको आमनिर्वाचनपछि महाधिवेशन गर्ने वा त्यस अगावै महाधिवेशन गर्ने विषयमा बहस जारी छ। बैठकमा जेनजी आन्दोलन, आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका कारण पार्टी कार्यालय र नेताका निवास भएको क्षति, पुनःनिर्माण, विकसित राजनीतिक घटनाक्रम, पार्टीको १५औँ महाधिवेशन, प्रतिनिधिसभा विघटन र आगामी फागुन २१ को निर्वाचन, मुलुकको शान्ति सुरक्षा एवम् सुशासनको अवस्था सम्बन्धमा, प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनःनिर्माण, कार्यसम्पादन समितिको निर्णय र अनुशासनसम्बन्धी व्यवस्थालगायतका विषयमा छलफल जारी चलिरहेको केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले जानकारी दिए।

गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा पहिलो दिन सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेका थिए। गत भदौ २३ र २४ गते भएका जेनजी आन्दोलनका क्रममा सभापति देउवा दम्पती साङ्घातीक हमलामा परी गम्भीर घाइते भएका थिए।

प्रकाशित: Nov 02, 2025| 14:03 आइतबार, कात्तिक १६, २०८२
प्रतिक्रिया दिनुहोस्