बिहीबार, साउन १४, २०८३

बाबुले लिएको परीक्षामा छोरीलाई 'टपर' बनाएपछि ... 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- पशुविज्ञान संकायको प्रवेश परीक्षामा बाबुले परीक्षा लिएर छोरीलाई टपर बनाएपछि यतिबेला कृषि तथा वनविज्ञान विश्वविद्यालय विवादमा तानिएको छ । 

कृषि तथा मत्स्यविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा फेल भएका सीमा जमकट्टेल, अपराजिता ओझा र अनिता भट्टराईलाई पशुविज्ञानको प्रवेश परीक्षामा सर्वोत्कृष्ट बनाइएपछि परीक्षाको मर्यादा र वैधानिकतामाथि प्रश्न उठेको हो । यसको विरोधमा प्राध्यापकले डिन कार्यालयमा ताला लगाइदिएका छन् । 

पशुविज्ञानको परीक्षामा सर्वोत्कृष्ट बनाइएकी सीमा परीक्षा समितिका सदस्यसचिव रहेका सहायक डिन मातृका जमरकट्टेलकी छोरी हुन् । सहायक डिन भर्ना समितिको सदस्यसचिव रहने प्रावधान छ । आफ्ना छोराछोरी वा श्रीमान्श्रीमती र नजिकका नातेदार परीक्षार्थीका रूपमा उपस्थित भएमा समितिमा स्वयं सदस्य सचिवसमेत रहन मिल्दैन । आफ्नै छोरी परीक्षार्थी रहेको पशुविज्ञान संकायको स्नातकोत्तर प्रवेश परीक्षामा सदस्यसचिवसमेत रहेका सहायक डिन जमकट्टेल सहभागी भएर अनियमितता गरेको आरोप प्राध्यापक र विद्यार्थी संगठनले लगाएका छन् । 

प्रजातन्त्रवादी प्राध्यापक संघले विश्वविद्यालयको डिनको एकतर्फी निर्णयका कारण परीक्षा प्रणालीमै प्रश्न उठेकाले विश्वविद्यालयको गरिमा र विश्वसनीयतामा आँच आएको भन्दै त्यसको विरोधमा डिनको कार्यालयमा तालाबन्दी गरेको छ । यस विषयमा गम्भीर अनुसन्धान गर्नुपर्ने माग प्राध्यापकहरूको छ । आफ्नै बुवाले प्रश्नपत्र तयार गरेको र उत्तरपुस्तिका परीक्षण गरी छोरीलाई सबैभन्दा बढी अंक दिएको विरोध भएपछि विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना प्रक्रिया नै अवरुद्ध भएको छ ।

परीक्षा समितिमा पशुविज्ञान संकायका सहायक डिन जमकट्टेल, कृषि संकायका सहायक डिन विष्णुराज ओझा र पशुविज्ञान संकायका प्राध्यापक निराजन भट्टराई थिए । सहायक डिन ओझा र प्राध्यापक भट्टराईका छोरीलाई पनि प्रवेश परीक्षामा उत्कृष्ट बनाइएको छ । परीक्षामा सीमाले ७८, कृषिका सहायक डिन ओझाकी छोरी अपराजिताले ७४.७७७ र पशुविज्ञान संकायका प्राध्यापक भट्टराईकी बहिनी अनिताले ७८ अंक ल्याएका छन् ।

यी तीनै छात्रा कृषि संकायको स्नातकोत्तर र मत्स्य विज्ञान संकायको परीक्षामा असफल भएको आरोप विद्यार्थी संगठनहरूको छ । माघ ५ गते भएको पशुविज्ञानको परीक्षामा १२० जना सामेल थिए । जसमा २५ अनुत्तीर्ण भएका छन् ।




कृषिविज्ञानको प्रवेश परीक्षा मंसिर १ गते भई सोही दिन नतिजा सार्वजनिक भएको थियो । पशुविज्ञान र मत्स्त्यविज्ञानको परीक्षा भने माघ ५ गते भई सोही नतिजा सार्वजनिक भएको थियो । 
कृषिविज्ञानको परीक्षामा सहभागी ४८१ मध्ये २१३ जना उत्तीर्ण भएका थिए । यस्तै पशुविज्ञानतर्फ ११७ परीक्षार्थीमध्ये ६२ जना सफल भएका थिए । मत्स्यविज्ञानमा भने परीक्षामा सहभागी ४५ मध्ये तीन मात्र उत्तीर्ण भएका थिए । 

विश्वविद्यालयको परिक्षासम्बन्धी निर्देशिकामा परीक्षा समितिमा विभिन्न संकायका डिनमध्येबाट १, स्नातकोत्तर कार्यक्रम निर्देशक १, विभिन्न संकायका विभागीय प्रमुख ३, प्राध्यापकमध्येबाट २, आर्थिक प्रशासन प्रमुख १, शैक्षिक प्रशासन प्रमुख १, सदस्यसचिव १ र डिनले तोकेको अध्यक्ष १ गरी ११ जना सदस्य रहने उल्लेख छ । 

प्रजातन्त्रवादी प्राध्यापक संघले राजनीतिक आस्थाका आधारमा विश्वविद्यालयकी पशुविज्ञान, मत्स्यविज्ञान र पशुचिकित्सा संकायकी डिन शारदा थपलियाले आफूखुसी निर्णय गर्दा परीक्षाको विश्वसनीयतामाथि प्रश्न उठेको आरोप लगाएको छ । संघले उक्त परीक्षा रद्द गरी फेरि परीक्षा लिनुपर्ने माग गरेको छ । डिन थपलियाले कहींकतै गल्ती भए छानबिन गर्न र सरोकारवाला निकायसँग छलफल गरी समस्या समाधान गर्न आफू तयार रहेको बताइन् । उनले नेपाल समयसँग भनिन्, ‘छानबिनबाट सत्यतथ्य बाहिर ल्याएपछिमात्र भर्ना प्रक्रिया अगाडि बढ्छ ।’

कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा प्रणाली बढी विश्वसनीय मानिँदै आएको छ । तर पछिल्लो घटनाले उक्त विश्वविद्यालयको परीक्षा प्रणाली र मर्यादामाथि गम्भीर प्रश्न उब्जाएको छ ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।