काठमाडौं- सरकारले स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन फागनु १४ गते नै गर्ने तयारी गरेको छ । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपीशर्मा ओलीले त्रिविको क्यालेन्डरअनुसार नै स्ववियुको चुनाव गर्ने तयारी भएको जनाएका हुन् ।
उनले यो विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेबिसंघका इञ्चार्ज डा प्रकाशशरण महतसँग छलफल समेत गरेका छन् । उनले छलफलमा तोकिएकै मितिमा स्ववियू चुनाव गर्नका लागि सरकारले काम सुरु गरिसकेको बताएका थिए ।
छलफलमा सहमाभागी कांग्रेसका सभापति देउवा र महतले फागुन १४ मै चुनाव गर्न सम्भव नभएका प्रतिकृया दिएका थिए । उनीहरुले सत्तापक्ष र विपक्षीबीच दुरी बढ्दै गएका बेला सहज रुपमा स्ववियू चुनाव गर्न सम्भव नभएको प्रतिक्रिया दिएका हुन् । सरकारले विपक्षीलाई निषेध गर्ने, विरोध कार्यक्रम गर्न नदिने गरिरहेको अवस्थमा स्ववियूको चुनाव कसरी हुन्छ भनेर प्रश्न गरेका थिए ।
छलफलमा प्रधानमन्त्री ओलीले ‘डेमोक्रेसी जोगाउन जे जे गर्नूपर्छ, सरकारले गर्छ, बिद्यार्थी चुनावको विषयमा विश्वविद्यालयको क्यालेण्डर अनुसार होस, कुलपतिको हैसियतले मैले विपक्षी दलको नेतासहित बिश्वबिद्यालयका पदाधिकारी र बिद्यार्थी नेताहरुसँग परामर्श गरेको हो, यसमा कुनै बखेडा खडा नगरौं,’ देउवालाई प्रधानमन्त्री ओलीले भनेका थिए ।
छलफलमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, अनेरास्वबियूका इञ्चार्जसमेत रहनुभएका पर्यटनमन्त्री रविन्द्र अधिकारी, क्रान्तिकारीका इञ्चार्ज रमेश मल्लसहित अनेरास्वबियूका अध्यक्ष नविना लामा, महासचिव ऐन महर, अनेरास्वबियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, नेबिसंघका अध्यक्ष नैनसिंह महरलगायतका बिद्यार्थी नेताहरु सहभागी थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४