शुक्रबार, साउन १५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेपाल निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरणमा प्रयत्नशील छ : अध्यक्ष दाहाल

नेपाल निर्वाचनमार्फत लोकतन्त्रको सुदृढीकरणमा प्रयत्नशील छ : अध्यक्ष दाहाल

 |  बिहीबार, कात्तिक ६, २०८२

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०८२

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतन्त्रको सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताएका छन्।

अन्तर व्यवस्थापिका सङ्घ (आइपियू)को १५१औँ महासभाको सन्दर्भमा जेनेभामा रहनुभएका अध्यक्ष दाहाल र अनुरागसिंह ठाकुर नेतृत्वको भारतको संसदीय प्रतिनिधि मण्डलसँग आज भएको भेटवार्तामा उनले नेपालमा जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन र चुनाव घोषणा भएको जानकारी गराएका थिए।

त्यसक्रममा उनले भारतसँगको सम्बन्ध औपचारिक र देशबीचको मात्रै नभई जनता–जनताबीचको सम्बन्ध बलियो रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

अध्यक्ष दाहालले अन्तर व्यवस्थापिका सङ्घ (आइपियू) का महासचिव मार्टिन चुङगोङसँग पनि भेट गरेका छन्। सो भेटमा उनले नेपालमा बदलिएको राजनीतिक परिस्थितिमा प्रतिनिधिसभाको निर्वाचन घोषणा भएको र विधायिकी जिम्मेवारी राष्ट्रिय सभाले निर्वाह गरिरहेको बताए।

जलवायु परिवर्तनको असरमा सहकार्य

यसैबीच, अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर, नवीकरणीय ऊर्जाको विकास र स्थानीय सुशासनलगायत क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीच सहकार्य हुने विश्वास व्यक्त गरेका छन्। अष्ट्रेलियाका सभामुख मिल्टन डिकसँगको द्विपक्षीय भेटवार्तामा उहाँले शैक्षिक साझेदारी, प्राविधिक तालिम र अनुसन्धान आदानप्रदान जस्ता कार्य विस्तारमा जोड दिन आग्रह गरे।

अष्ट्रेलियाले नेपालको शिक्षा, स्वास्थ्य, सुशासन र सामुदायिक वन व्यवस्थापनका क्षेत्रमा उल्लेख योगदान गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा दुई देशबीच विविध क्षेत्रमा सहकार्य अभिवृद्धि हुने विश्वास व्यक्त गरे।

उनले अष्ट्रेलियामा रहेका नेपाली समुदाय र विद्यार्थीको सुरक्षा, सम्मान र सहयोगी वातावरणका लागि धन्यवाद व्यक्त गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

प्रकाशित: Oct 23, 2025| 16:10 बिहीबार, कात्तिक ६, २०८२
प्रतिक्रिया दिनुहोस्