काठमाडौं। कांग्रेस नेता एवं निवर्तमान गृहमन्त्री रमेश लेखकले उत्तेजित, आग्रह, पूवाग्रह तथा प्रतिशोधबाट माथि उठेर मुलुकमा विधिको शासन स्थापित गरेर सबै राजनीतिक दल जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार कांग्रेस पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जेनजी आन्दोलनमा बल प्रयोगका लागि आफूले कुनै आदेश नदिएको दावी समेत गरे। लेखकले आफू र प्रधानमन्त्री केपी शर्माले जेनजी आन्दोलनलाई दमन गर्न गोली चलाउने अथवा अन्य कुनै आदेश नदिएको बताए।
गोली चलाउन प्रधानमन्त्री वा गृहमन्त्रीले आदेश गरेको भनेर चलेका चर्चाहरूमा सत्यता नरहेको उनको दाबी थियो। लेखकले जेनजी आन्दोलनमा घुसपैठ भएका कारण पीडादायी घटना भएको बताए।
जेनजी पुस्ताले अघि सारेका मागहरूलाई बुझेर लोकतन्त्रको मूल्य मान्यताका साथ अघि बढ्न जरुरी रहेको उनले बताए। लेखकले आन्दोलनको छानविन गर्न बनेको आयोगले मुलुकको संविधान र कानूनबमोजिम काम गर्नेमा विश्वस्त रहेको सुनाए। आन्दोलनको एक महिनापछि लेखकले सार्वजनिक अभिव्यक्ति दिएका हुन्।