काठमाडौं - नेपाली कांग्रेसमा अहिले नेपाल विद्यार्थी संघको महाधिवेशनको बहस चर्को रूपमा उठिरहेको छ। तर कांग्रेसका केही भ्रातृ संगठनको महाधिवेशन आठ वर्षसम्म हुन सकेको छैन भने चारवटा भ्रातृसंस्था स्थापना भएपछि महाधिवेशन भए–नभएको रेकर्ड पार्टी कार्यालयमा छैन।
कांग्रेसले पार्टीको १३औं महाधिवेशनपछि १३ वटा भ्रातृ संगठनमध्ये प्रभावशाली तीनवटा भ्रातृ संगठनसहित ६ वटा महाधिवेशन सम्पन्न भयो। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन पार्टीको १३औं महाधिवेशनपछि सम्पन्न भए। कांग्रेस महाधिवेशनलगत्तै भूतपूर्व सैनिक संघ र प्रजातन्त्र सेनानी संघले आफ्नो महाधिवेशन सम्पन्न गरेको थियो। मुस्लिम संघले केही समयअगाडिमात्र महाधिवेशन सम्पन्न गरेको छ। तर दलित संघले चार वर्षसम्म महाधिवेशन गर्न सकेको छैन। त्यसैगरी आदिवासी जनजाति संघ र किसान संघको महाधिवेशन नभएको आठ वर्ष नाघिसकेको छ। प्रजातन्त्र सेनानी संघको पनि महाधिवेशन गर्ने म्याद सकिएको छ।
तत्कालीन अवस्थामा कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच एकता भएपछि महाधिवेशन हुन नसकेका प्रभावशाली तीन भ्रातृ संगठनसहित चारवटा भ्रातृ संगठनको महाधिवेशन सम्पन्न भएको छ। १३औं महाधिवेशनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले ६ महिनाभित्र सबै भ्रातृ संगठनको महाधिवेशन गराउने निर्णय गरेको थियो। तर कांग्रेसको वर्तमान केन्द्रीय समितिको म्याद साढे दुई वर्ष बाँकी रहँदा पनि कांग्रेसले प्रभावशालीबाहेकका भ्रातृसंस्थाको भन्दा अरूको महाधिवेशन गर्न सकेको छैन।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजको महाधिवेशन भएनभएको कुनै रेकर्ड पार्टी कार्यालयमा छैन।
दलित संघको सभापतिमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मीन विश्वकर्मा अध्यक्ष छन्। किसान संघको सभापतिमा भानु सिग्देल, आदिवासी जनजाति संघको अध्यक्षमा इन्द्रबहादुर गुरुङ र प्रजातन्त्र सेनानी संघको अध्यक्षमा टंकप्रसाद कँडेल छन्।
पहिलोपटक २०६६ साल वैशाख २१ जेठ १ गतेको पार्टीको निर्णयअनुसार गठन भएका ५ वटा संगठनको भने अधिवेशन भएनभएको पार्टी केन्द्रीय कार्यालयमा कुनै रेकर्ड छैन। राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तमाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाजको भने भ्रातृसंस्थाको मान्यता पाएपछि महाधिवेशन भएनभएको कुनै रेकर्ड पार्टी कार्यालयमा नभएको स्रोतले बतायो। अपांग संघको अध्यक्षमा भोजराज श्रेष्ठ, तमाङ संघमा कवेलमान तामाङ र मगर संघमा गणेशबहादुर थापा मगर तथा ठाकुर समाजमा अनिरुद्र ठाकुर अध्यक्ष छन्।
यसैगरी कांग्रेसको नर्सरीका रुपमा हेरिने नेपाल विद्यार्थी संघको दुईवर्षे कार्यकाल समाप्त भएर दुईपटक म्याद थप हुँदा पनि महाधिवेशन गर्न नसकेपछि अहिले नेविसंघको वर्तमान केन्द्रीय समितिको म्याद थप गर्ने वा तदर्थ समिति बनाउने भन्नेबारेमा पार्टीको केन्द्रीय समितिमा बहस चलिरहेको छ।
अहिले तरुण दलले देशभर अभियान सञ्चालन गरिरहेको छ। तर तरुण दलको महाधिवेशन भएको साढे २ वर्ष पुग्दा पनि चार जना पदाधिकारीभन्दा बाहेक केन्द्रीय समिति पूर्ण हुन सकेको छैन। तरुण दलको महाधिवेशन २०७३ साल कात्तिकमा भएको थियो। तरुण दलको महाधिवेशन ११ वर्षसम्म हुन सकेको थिएन। पोखरा महाधिवेशनमा पनि १२ वर्षमा भएको महाधिवेशन भएको हो। सो महाविधेशनमा पनि विधान र प्रतिनिधिको टुंगो नलगाई पार्टी नेतृत्वले हस्तक्षेप गरेर अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पार्टी गुटमा भाग लगाएर चयन गरिएको थियो।
पोखरा महाधिवेशनबाट अध्यक्षमा सभापति शेरबहादुर देउवा निकटका जितजंग बस्नेत, उपाध्यक्षमा सिटौला निकटका उत्तमकुमार चापागार्इं, महामन्त्री रामचन्द्र पौडेल निकटका भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा निर्देशक समिति संयोजक खाँड र नेता खुमबहादुर खड्का निकटका विद्वान् गुरुङ चयन भएको घोषणा गरिएको थियो। नेपाली कांग्रेसका १३ वटा भ्रातृ तथा १७ वटा शुभेच्छुक संस्था छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४