काठमाडौं– राजधानीबाट प्रकाशित विभिन्न पत्रपत्रिकाले विभिन्न शिर्षकका समाचारालाई प्राथमिकताका साथ छापेका छन्। आजको नागरिक दैनिकले प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ। सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत रहेको पाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्टिय गौरवका आयोजना निगरानी गर्न भन्दै माघ १७ गतेसम्मको एक साता समयावधि राखेर गत माघ १० गते गोरखापत्रमा टेलिप्रिजेन्स सिस्टम अर्थात् ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ निर्माणका लागि बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको छ। सार्वजनिक खरिद ऐन २०६३ को दफा १४ को उपदफा ९४० बमोजिम राष्टिय स्तरको बोलपत्र आह्वान गर्दा कम्तीमा ३० दिन म्याद दिनुपर्नेमा एक हप्ता मात्रै समय दिई कानुनको उल्लंघन भएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रकाशित सूचनाको बुँदा नम्बर १ मा राष्ट्रिय स्तरको बोलपत्र आह्वान भनी उल्लेख छ, समाचारमा भनिएको छ।
नागरिक दैनिकले नै ‘मेडिकल माफियामुखी ऐन’ शिर्षकको समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ताले संसद्बाट पारित राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई माफियामुखी ऐनको संज्ञा दिएका छन्। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक समाजलगायतको विरोधका बाबजुद सदनबाट पारित विधेयकमा माफियामुखी व्यवस्था रहेको अभियन्ताको आरोप छ। ऐनमा डा। गोविन्द केसीसँग गरेको सम्झौताबमोजिम जनतामुखी र विद्यार्थीमुखी प्रावधान हटाएर मेडिकल माफियामुखी प्रावधान राखिएको उनीहरूको दाबी छ। समाचारमा भनिएको छ।
आजको अन्नपूर्ण पोस्ट् दैनिकले साँघुरिँदै सम्पदाहरु शिर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ। नेपाली बृहत् शब्दकोषले गुठीको अर्थ लेखेको छ– ‘धार्मिक वा परोपकारी कार्य–सञ्चालनका लागि छुट्ट्याइएको, त्यसैबाट आउने आयस्ताले देव–पितृको पूजाआजा आदि चलाइने र जग्गा, घर, सम्पत्ति आदिको रेखदेख गर्ने सामाजिक संस्था।’
पाशुपत क्षेत्रमा दुई सय ३६ गुठी छन्। तिनको जग्गाजमिन अथाह छ। तर तिनले आफ्नो आयस्ताबाट न जात्रापर्व, पूजाआजा धानेका छन्, न सम्पत्तिको रेखदेख नै गर्न सकेका छन्। दशकौंदेखिको यो बेहालप्रति गुठी संस्थान र राज्य बेखबरजस्तै छ। गुठीको जग्गा मोहीले लिएपछि आयस्ता झन्डै आधा हुन्छ। बुझाउनु पर्ने कुत पनि एकतिहाइले बुझाउँदैनन्, जसका कारण गुठी संस्थानमातहत सञ्चालन हुने पाशुपत क्षेत्रका अधिकांश जात्रापर्व र पूजाआजा चलाउनै मुस्किल पर्छ, समाचारमा भनिएको छ।
यस्तै आज राजधानीबाट प्रकाशित सबैजसो पत्रपत्रिकाले रोहितको कृर्तिमानलाई पनि प्रमुखताका साथ प्रकाशित गरेका छन्। कान्तिपुर प्रकाशित समाचारमा लेखिएको छ, नेपालका राहितकुमार पौडेल अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडी भएका छन्। दुबईमा शनिबार यूएईसँग भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा रोहितले १६ वर्ष १ सय ४६ दिनमा अर्धशतक बनाउँदै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन्।
नयाँ पत्रिका दैनिकमा ९७% मुसहरसँग उभिने पनि जमिन छैन शिर्षकको समाचारलाई प्राथमिकतासाथ प्रकाशित गरेको छ। यस्तै कारोबार दैनिकमा ६७ औं भन्सार दिवस स्मार्ट बोर्डर छिट्टै कार्यान्वयनमा शिर्षकको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४