वीरगंज : पूर्व -पश्चिम राजमार्गको पसाहामा सवारी दुर्घटनामा परेर सशस्त्र प्रहरी उपरिक्षकको मृत्यु भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी गम्भीर घाइते भएका छन्।
दुर्घटनामा परेर सशस्त्र प्रहरी उपरिक्षक बलराम पोखरेलको निधन भएको हो । प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई सहित अन्य तीनजना गम्भीर घाइते भएको बताइएको छ।
निजगढबाट औपचारिक कार्यक्रम सकेर शनिबार साँझ सदरमुकाम कलैया तर्फ फर्किने क्रममा उनीहरु सवार कार राजमार्गमा रोकिराखेको ट्रयाक्टरमा ठोक्किएर दुर्घटनामा परेको हो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
पसाहा खोला नजिकै कार दुर्घटनामा परेको हो ।गम्भीर घाइते प्रमुख जिल्ला अधिकारीलाई उपचारको लागी हेलिकप्टर बाट उद्धार गरेर काठमाडौं लैजाने प्रयास भइरहेको छ।
कार चालक जगत पटेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, प्रहरी हवल्दार शम्भु गुरुङको अवस्था खतरामुक्त रहेको छ ।निजगढमा कर्मचारी मिलन केन्द्रले आयोजना गरेको पिकनिकमा सहभागी भएर फर्किने क्रममा सिडिओको कार दुर्घटनामा परेको हो ।
वीरगंजको गण्डकस्थित वीरगंज हेल्थ केयर अस्पतालमा बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको उपचार भईरहेको छ । उनलाई सघन शल्यकृया कक्षमा राखिएको छ।
टाउकोमा गम्भीर चोट लागेर रगत जमेकोले रगत झिक्न टाउकोको शल्यकृया शुरु गरिएको अस्पताल सम्बद्ध श्रोतले जानकारी दिएको छ ।
प्रजिअको जीवन रक्षाको लागी तत्काल शल्यकृया आवश्यक भएकोले वीरगंजमै उपचार थालिएको चिकित्सकले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४