काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकारी सभापति डोल प्रसाद अर्यालले छोटो समयमा जनताले चाहेको निकास दिने हिसाबले गृहकार्य गरिरहेको बताएका छन्।
बुधबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठक पश्चात उनले जनताले चाहेको निकास र नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि आन्तरिक गृहकार्य गर्नुपर्ने भन्दै त्यसमै सबैको ध्यान केन्द्रीत रहेको बताए।
उनले भने, ‘हामी जति सक्दो छोटो समयमा जनताले चाहेको निकास, जनताले चाहेको सुशासन, जनताले नचाहेको भ्रष्टाचारको अन्त्य गर्नको लागि हामीले आन्तरिक गृहकार्य धेरै नै गर्नुपर्ने छ। त्यसकारण हामीले आन्तरिक गृहकार्यमा अलि बढि ध्यान दिनुपर्ने अवस्था छ।’
साथै, पार्टीका उपसभापति स्वर्णिम वाग्लेले ताजा जनादेशको जेनजीको मागलाई साथ दिँदै आगामी कदमहरु चाल्ने बताए।
उनले पुरानो दुई वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य भाद्र २३ गते समाप्त मात्र होईन पूर्ण समाप्त भएको पनि बताए।
उनले भने, ‘जेनजीको माग पनि त्यही हो र रास्वपाको पनि विचार त्यही हो की ताजा जनादेशमा जानुपर्छ। पुरानो दुई वटा दलको बाहुल्यमा बनेको सरकारको औचित्य समाप्त मात्र होईन पूर्ण समाप्त भएको कुरा हामीले भाद्र २३ गते नै गरेका थियौँ र त्यही दुईवटा दलको बल कायम रहेको संसदको वैधतामाथि पनि प्रश्न उठेको कुरालाई आत्मसाथ गर्दै आगामी निकास भनेर अबका घटनाक्रमहरु पनि छन्।’
भदौ २३ को दमन र २४ को आगजनी, तोडफोड र हिंसाको निन्दा गर्दै छुट्टै न्यायिक छानबिन हुनुपर्ने मागलाई सरकारले सम्बोधन गरेर त्यसलाई पूर्ण रुपमा सघाउने पनि उनको भनाई छ।
उनले भने, ‘भदौ २४ को अप्रिय घटना श्रृंखलालाई पनि पार्टीले त्यती बेला नै २३ को दमन र २४ को आगजनी, तोडफोड र हिंसाको पनि हामीले निन्दा गर्दै त्यसको पनि छुट्टै न्यायिक छानबिन हुनुपर्छ भन्ने माग गरेका छौँ। सरकारले पनि त्यसलाई सम्बोधन गरेर एउटा जाँचबुझ आयोग गठन गरेको छ। त्यसलाई पूर्ण रुपमा सघाउने कुरा छँदै छ, त्यसपछि अबको राजनीतिक कोर्ष के हुन्छ भनेपछि फागुन २१ ताजा जनादेशको लागि आह्वान भएको छ। यद्यपी कामहरु गर्नै बाँकी छ।’