काठमाडौं । राष्ट्रियसभा, कार्यव्यवस्था परामर्श समितिको बैठक आज सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बसेको छ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष विमला घिमिरे, राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू, कार्यव्यवस्था परामर्श समितिमा रहनुभएका सदस्यलगायतको उपस्थिति रहेको थियो।
बैठकमा समसामयिक अवस्थामा राष्ट्रियसभाको भूमिका विषयमा छलफल भएको थियो। बैठकमा अध्यक्ष दाहालले १८औँ अधिवेशन समापनका सन्दर्भमा नियमित बैठक बस्न नसकेकाले उक्त अधिवेशनमा भएका कामकारबाही सार्वजनिक गर्न निर्देशन दिएका छन्।
यस्तै, गत जेठ ११ र १२ गते सातवटै प्रदेशमा सम्पन्न ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयक निर्वाचक मण्डलहरूसँगको समन्वय बैठक/अन्तरक्रिया कार्यक्रमको एकीकृत प्रतिवेदन आवश्यक परिमार्जनसहित टुङ्ग्याएर सार्वजनिक गर्ने निर्णय भएको छ।