बिहीबार, साउन १४, २०८३

प्राधिकरणको चरम लापरवाही : ज्यानै लिने विजुली लाइन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम – उपभोक्ताको घरघरमा विद्युतीय सेवा पुर्‍याउँदै आएको विद्युत प्राधिकरण अहिले मानिसको ज्यान लिने मेशिन बन्दै गएको छ। जनकपुर क्षेत्रमा प्राधिकरणको लापारवाहीले गएको एक सप्ताहभित्र करेन्ट लागेर ८ जनाको ज्यान गइसकेको छ।

घरायसी कामकाजको सिलसिलामा कसैलाई करेन्ट लागे उसले गल्ती वा लापारबाही गरेको भन्न सकिन्छ। तर, विद्युत प्रवाह हुने पोल वा तारमा करेन्ट लागेर कसैले ज्यानै गमाउनु भनेको पक्का प्राधिकरणको लापारबाही हो।

पछिल्लो दुई साताभित्र यस्तै घटना घटेको छ जनकपुर उपमहानगरपालिका र धनुषाको सबैला नगरपालिकामा। शुक्रबार साँझ सबैला नगरपालिका- ४ स्थित कोठिया बल्टियामा वैवाहिक कार्यक्रम सकेर फर्किँदै गरेका ६ जना जन्तीले प्राधिकरणको लापारबाहीले आफ्नो ज्यान गुमाउनु पर्‍यो। यसअघि जनकपुरको कुवा रामपुरमा अर्थिङका लागि जडान गरिएको तारमा छोएर दुईजनाले ज्यान गुमाए।

सबैला घटनामा सिन्धुली दुधौली-९ का ९ वर्षीय आक्रोस कुमार, सोही ठाँउ बस्ने वर्ष २० की पुजा अधिकारी, वर्ष १७ की लिला अधिकारी, १० वर्षका सुरज अधिकारी, ४५ वर्षीय रामबाबु अधिकारी र धनुषा बल्टियाकै ६० वर्षकी केशम कुमर रहेका छन्।

सिन्धुलीको दुधौलीबाट सबैलाको बल्टिया जन्ती आएको थियो। वैवाहिक कार्यक्रम सकेर फर्किरहेको बसको छतमा रहेको बाकसको जस्ताको पाताले ११ हजार भोल्ट प्रवाह हुने मुख्य लाइनको तार छुन पुग्यो। ११ हजार भोल्टको तारले बाकस छोए लगत्तै पुरै बसमा करेन्ट प्रभावह भयो र बसमा सवार मध्ये ७ जनाले अकालमा ज्यान गुमाए। करेन्ट प्रवाह हुँदा बसमा करिब ४० जना सवार थिए। 
११ हजार भोल्टको करेन्ट प्रवाह भइरहेको तारले बसमा कसरी छोयो भन्ने कुराले पनि प्राधिकरणको लापारबाही प्रष्ट पारेको छ। विद्युत प्रावह हुने मुख्यलाइनको तार पहिलेदेखि लड्केको अवस्था रहेको र यसबारे प्राधिकरणलाई समेत जानकारी गराइएको स्थानीयहरु बताउँछन्। तार व्यवस्थित गर्न जानकारी गराइएपनि प्राधिकरणले चासो नदेखाएको स्थानीयहरुको आरोप छ। प्राधिकरणले समयमै तारलाई ब्यवस्थित गरेको भए यस्तो दुखद् घटना हुनबाट जोगिने स्थानीय श्याम यादवले बताए।

यस्तो दुर्घटना हुन नदिन पोलको उचाई पनि महत्वपूर्ण मानिन्छ। समान्यतः ११ हजार भोल्टको विद्युत प्रसारणहुने पोलहरुको उचाई ११ मिटर पर्दछ। तर, सबैला घटनामा भने पोलको उचाइमा समेत त्रुटी पाइएको छ। स्थानीयहरुका अनुसार ११ हजार भोल्टको करेन्ट प्रवाह हुने पोलको उचाई ८ मिटरमात्रै रहेको छ। कम उचाइका पोलका कारण लडकेको तार बसको छतमा राखिएको जस्ताको बाकसमा छुन पुग्यो। 

सबैला क्षेत्रमा धनुषाको धनुषाधाम सबस्टेशनमार्फत विद्युत आपूर्ति हुँदै आएको छ। उक्त क्षेत्र महेन्द्रनगर सखुवा वितरण केन्द्र अन्तर्गत पर्दछ। ११ हजार भोल्टको मुख्य तार छोएर दुर्घटना हुनेगरी करेन्ट प्रवाह हुँदा विद्युत ट्रिप (स्वतः आपूर्ति बन्द) हुनुपर्ने विद्युतसम्बन्धी जानकार प्राविधकहरुको भनाई छ। 

तर सबैला र जनकपुर दुबै घटनामा बिजुलीको पोलमा जडान गरिएको तार छोएर दुर्घटना भएपनि विद्युत ट्रिप भएको देखिएको छैन्। घटनास्थलबाट स्थानीयले फोन गरेर जानकारी गराए पश्चात धनुषाधाम सबस्टेशनले विद्युत आपूर्ति बन्द गरेको बताइएको छ।

विद्युत ट्रिप नहुनु पनि प्राधिकरणको चरम लापारबाही रहेको जानकारहरु बताउँछन्। मर्मत सम्भारको नाउँमा बजेट निकासा भएपनि सदुपयोग हुन नसकेको स्थानीयको गुनासो छ। 

प्राधिकरणका एक कर्मचारीका अनुसार विद्युत प्राधिकरण महेन्द्रदगर वितरण केन्द्रका प्रमुख राजकुमार रमण प्राविधिक समस्याहरु सामाधन गर्न खासै चासो देखाएका छैनन्। ‘अधिकांश समय कार्यालय भन्दा बाहिरै रहने गरेका उनी फिल्ड भिजिटलाई पनि प्राथमिकता दिँदैनन्’, नाम नछाप्ने शर्तमा एक कर्मचारीले भने। शुक्रबार साँझ सबैला दुर्घटना हुँदा पनि उनी काठमाडौं रहेको बताइएको छ। दुई दिनअघिमात्र उनी काठमाडौंबाट फर्किएका थिए।

धनुषाधाम सबस्टेशनको इञ्चार्जमा इन्जिनियरको दरबन्दी रहेपनि वितरण केन्द्रका प्रमुख रमणले चौंथो तहका कर्मचारीलाई जिम्मेवारी दिएर पठाएको बताइएको छ। सबैला घटनाको विषयमा बुझ्न खोज्दा वितरण केन्द्रका प्रमुख रमणसँग टेलिफोन सम्पर्क हुन सकेन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।