बिहीबार, साउन १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माण भएको ५९ वर्षपछि रौतहटको खेतमा गण्डक नहरको पानी

निर्माण भएको ५९ वर्षपछि रौतहटको खेतमा गण्डक नहरको पानी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज – निर्माण सम्पन्न भएको ५९ वर्ष पछि पहिलो पटक रौतहटका किसानको खेतमा गण्डक नहरले सिंचाई सुविधा उपलब्ध गराउने भएको छ।

नहरको पूर्वी खण्ड अन्तर्गत बाराको आदर्श कोतवाल गाउँपालिकामा जमुनी नदीमा निर्माणाधीन बाँध संचालनमा आएपछि रौतहटको दक्षिणी भेगका किसानको खेतमा समेत सिंचाई सुविधा पुग्ने भएको हो।

यसअघि भारतीय सहयोगमा पर्सादेखि रौतहटको बागमती नदीसम्म गण्डक नहरको संरचना निर्माण गरिएपनि आदर्श कोतवाल गाउँपालिका भन्दा पू्र्व ब्लक नम्बर १२ ब्लकदेखि १५  सम्म कहिल्यै पनि नहरमा सिंचाईका लागी पानी उपलब्ध भएन। बाराको दक्षिण पूर्वी भेग र रौतहटको दक्षिणी भेगमा जन्मिएको एउटा पुस्ता नहरबाट सिंचाई सुविधा उपलब्ध नभए पनि सुख्खा नहर हेरेरै हुर्किएको छ। 

विश्व बैंकको ऋण अनुदानमा सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना अन्तर्गत नारायणी सिंचाई व्यवस्थापन कार्यालयले निर्माण गराइरहेको जमुनी सिंचाई आयोजनाको निर्माण कार्य नब्बे प्रतिशत सम्पन्न भइसकेको छ। निर्माण कार्य सम्पन्न गरेर आगामी छ महिनामा नौं हजार पाँच हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा उपलब्ध गराउने योजना रहेको कार्यालयका विभागिय प्रमुख राजेन्द्रप्रसाद साहले जानकारी दिए।

 जमुनी नदीमा‌ बाँध निर्माण गरेर गण्डक नहरमा पानी पुर्‍याउने योजना दुई दशक अघि देखि नै बनाइएपनि अति राजनीतिका कारण उत्पन्न किचलोले‌ गर्दा कार्यान्वयनमा आउन सकेको थिएन।
 
बाँधको संरचनाभन्दा उत्तर‌तर्फको गाउँबासीले संरचना निर्माणको पक्षमा र दक्षिण भेगका किसानले विपक्षमा अडान राख्दै आएका थिए। बाँध संरचनाको निर्माणले पानीको प्राकृतिक बहाव अवरुद्ध भएर आफूहरुको खेतमा‌ सिंचाईका लागी पानी नपुग्ने भयले दक्षिण भेगका किसानले अवरोध गरेका थिए।

पछिल्लो समयमा नहरको प्राविधिक पक्ष र बाँध निर्माण पछि दक्षिणी भेगमा उपलब्ध हुने सिंचाई सुविधा बारे स्थानीयबासिन्दालाई जनप्रतिनिधीको सहयोगमा विश्वासमा लिइएपछि तीनवर्ष यता बाँध निर्माण कार्यले गती लिएको थियो। करीब २७ करोड रुपैयाँको लागतमा २०७२ सालदेखि सुरु भएको आयोजनाको तटबन्ध तथा बाँधको ढोका (फलामे संरचना) निर्माण गर्न मात्र बाँकी रहेको छ। 

कुमार आशीष जेभी काठमाडौंले बाराको आदर्श कोतवाल गाउँपालिका वडा नं. ८ स्थित जमुनी खोलामा बाँध निर्माण गरी प्रतिसेकेन्ड ७ हजार ५ सय लिटर पानी फाल्ने पैनी नहरबाट जमुनी खोलाको पानी गण्डक नहरमा ल्याउने योजना छ। यो पानीले  बाराको कोतवालबाट ब्लक १२ र रौतहटको १३, १४ र १५ सम्म अर्थात् बागमती खोलासम्म सिंचाई सुविधा उपलब्ध गराउने छ।

लालबकैया नदीमा आएको बाढीले गण्डक नहरको पूरै संरचना भत्काइसकेकोले र गण्डक नहरमा बर्सेनि पानी कम हुँदा निर्धारित पूर्व सिमानासम्म पानी नपुगेको प्राविधिकहरूले बताएका छन्। रौतहटसम्म जोड्ने गण्डक नहरको जीर्ण संरचना मर्मत र सुधारको लागि नारायणी सिंचाई आयोजना कार्यालयले सरकारसँग करिब ४० करोड रुपैयाँ माग गरिएको प्रमुख साहले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।