काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शहिद घोषणाको साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरेको गृह एवं कानुन मन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।
उनले भने, ‘जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय भएको छ। साथै असोज १ गते शोक दिवस मनाउनको लागि सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा ओडाउने निर्णय पनि गरिएको छ।’
यस्तै, उनले क्षतिपूर्तिको हकमा १० लाख र अन्य खर्च वापत् ५ लाख गरेर १५ लाख अर्थमन्त्रालय मार्फत वितरण गर्ने निर्णय भएको पनि जानकारी दिएका छन्।
साथै, आजको बैठकबाट आन्दोलनको क्रममा भएको घटनाको छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने र जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको स्मरणमा जेनजी जागरण स्मारक पार्क स्थापना गर्ने निर्णय पनि भएको छ।