मंगलबार, भदौ २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सत्तारुढ दलका नेता र विपक्षी दलले मागे प्रधानमन्त्री ओलीको राजीनामा

सत्तारुढ दलका नेता र विपक्षी दलले मागे प्रधानमन्त्री ओलीको राजीनामा

 |  मंगलबार, भदौ २४, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २४, २०८२

vianetvianet

काठमाडौं- सोमबार जेनजीको आन्दोलनमा भएको घटनापछि विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।

Kumaribank

प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले सरकारको राजीनामा मागेका छन् भने सत्तारुढ दल नेपाली कांग्रेसका कैयौं नेताहरुले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन्।

गएराती बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले इतिहासकै कलंकको रुपमा भएको नरसंहारको जिम्मा सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको थियो।

त्यसैगरी रास्वपाले सोमबारको घटनापछि वर्तमान सरकारको औचित्य पुर्णत: समाप्त भइसकेको भन्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ। साथै रास्वपाले घटनाको निश्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गरि गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ।

त्यस्तै राप्रपाले पनि जेनजीको आन्दोलनमाथि सरकारले गरेको बर्बर दमनपछि वर्तमान सरकारको उपादेयता समाप्त भएको निश्कर्ष निकालेको छ। राप्रपाको आकस्मिक रुपमा बसेको केन्द्रीय पदाधिकारी बैठकले तत्काल सरकार विघटन र सबै समस्याको समाधान तथा नयाँ समझदारीको लागि आव्हान गरेको छ। राप्रपाले भ्रष्टाचारविरुद्ध सडकमा ओर्लिएका नयॅा पुस्तालाई अन्धाधुन्ध बल प्रयोग र गोली समेत प्रहार गरेर सरकारले भ्रष्टाचारविरुद्धको आवाज निस्तेज र निमिट्यान्न पार्ने निन्दनीय र लाजमर्दो प्रयास गरेको टिप्पणी गर्दै शान्तिपूर्ण प्रदर्शनमाथिको जंगली रवैयाबाट सरकारको स्वेच्छाचारी, अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र उदांगो भएको बताएको छ।

Metro Mart

त्यसैगरी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सोमबार राति विज्ञप्ति मार्फत एमालेसँगको गठबन्धन जारी राख्ने कांग्रेसको निर्णय पुर्नविचार गर्नुपर्ने बताएका छन्। उनले जनतालाई सुशासनको प्रत्याभूति दिने गरी दुई ठूला दल मिलेर बनाएको सरकारले त्यो नै गर्न नसकेका कारण यो गठबन्धनको सरकार रहिराख्नुको आवश्यकता नरहेको बताएका छन्। साथै महामन्त्री थापाले आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर गृहमन्त्रीले राजीनामा दिइसकेको र समग्र परिस्थितिको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने समेत बताएका छन्।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला जेनजीका माग समय सापेक्ष र जायज रहेको बताउदै वर्तमान सरकारको औचित्य पुरै समाप्त भएको र सबै मिलेर देशका हरेक समस्याको विधि सम्मत समाधान खोज्न आग्रह गरेका छन्।

त्यस्तै कांग्रेस बाहेक एमाले भित्र पनि आफ्नै पार्टी नेतृत्वको सरकारप्रति अविश्वास बढेको छ। एमालेका केहि केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै प्रधानमन्त्रीको राजीनामा मागेका छन्। केन्द्रीय सदस्य उषा किरण तिम्सिनाले गृहमन्त्रीले मात्र राजीनामा दिएर हु्न्न भन्दै प्रधानमन्त्रीले पनि राजीनामा दिनु पर्ने बताएकी छन्।

प्रकाशित: Sep 09, 2025| 07:42 मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्