काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दलीय स्वार्थभन्दा माथि उठेर विकासका मुद्दामा सहमति खोज्न सबैलाई आग्रह गरेका छन्।
मादी माध्यमिक विद्यालयको हिरक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री खड्काले शिक्षा र ऊर्जा दुवै क्षेत्रमा सङ्खुवासभाले पुर्याएको योगदान ऐतिहासिक रहेको उल्लेख गर्दै जिल्लाको स्रोतसाधन र सम्भावनालाई राष्ट्रिय गौरवमा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राखे।
“सङ्खुवासभामा जलविद्युत्सँगै पर्यटन, योगमाया आयुर्वेद विश्वविद्यालय, सीमा नाका र पूर्वाधार विकासको अत्यधिक सम्भावना छ। यस्तो क्षमतामय जिल्लाको विकासलाई दलगत राजनीतिभन्दा माथि राख्नुपर्छ”, उनले भने । चीन र भारतलाई जोड्ने किमाथांका नाकालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो।
सो अवसरमा विद्यालय स्थापना र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।