शनिबार, जेठ ३०, २०८३

लम्जुङको पहिचान लालीगुराँस : मन्त्री गुरुङ

 |  बुधबार, भदौ ४, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ४, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले लम्जुङ जिल्लाको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले यसलाई देशकै एउटा अद्वितीय गन्तव्य बनाएको बताएका छन्। उनका अनुसार लम्जुङको पहिचान र सम्पदाको प्रतिनिधित्व गर्ने अनेकौँ प्रतीकमध्ये सबैभन्दा प्रमुख र प्रिय लालीगुराँस हो।

National life

मुसारा फिल्म्स प्रालि र नेपाल पर्यटन बोर्डको सहकार्यमा दुधपोखरी तथा दोर्दी गाउँपालिकाको सिमानामा आयोजित 'लिपेमा फुल्ने लालीगुराँस फुल' नामक वृत्तचित्र प्रदर्शन कार्यक्रममा मन्त्री गुरुङले लम्जुङका कुनाकन्दरामा लुकेर रहेका प्राकृतिक सुन्दरताको पहिचान गरी पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्नेमा बल दिए।

उनले लम्जुङमा गुरुङ समुदायको ऐतिहासिक योगदान स्मरण गर्दै भने, 'स्थानीय कला–संस्कृति र प्राकृतिक सम्पदाको संयोजनमार्फत पर्यटन विकासमा लागे लम्जुङ द्रुत गतिमा अघि बढ्छ भन्नेमा दुई मत छैन।'

सो अवसरमा राजधानीस्थित विभिन्न गुरुङ समाजले घाँटु र सोरठी जस्ता सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रममा लम्जुङका विभिन्न स्थानीय तहका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो। तिनमा राइनस नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ, दुधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी र मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ रहेका थिए।

मुसारा फिल्म्सका संरक्षक यमबहादुर गुरुङले लालीगुराँसको रोचक कथा प्रस्तुत गर्दै यसले लम्जुङको पारिस्थितिक तथा सांस्कृतिक मूल्यलाई प्रतिनिधित्व गर्ने बताए। उनले आगामी दिनमा लालीगुराँसलाई अझ गहिरो अध्ययन र अन्वेषणमार्फत स्थानीय पर्यटन प्रवर्द्धनमा जोड दिने प्रतिबद्धता पनि व्यक्त गरे।

Shivam cement

उक्त वृत्तचित्रको छायांकन तथा निर्देशन शंकर गुरुङले गरेका थिए।

प्रकाशित: Aug 20, 2025| 17:29 बुधबार, भदौ ४, २०८२
प्रतिक्रिया दिनुहोस्