जनकपुरधाम- तराईमा सशस्त्र संघर्षरत प्रगतिशील तराई मुक्ति मोर्चा सिजन समूहका नेता मारिएको एक दिनपछि प्रहरीले सोहि समूहमा संलग्न एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीले पक्राउ गरेको मोर्चाका कार्यकर्ता सप्तरीको खडक नगरपालिका-९ बस्ने ४१ वर्षीय पशुपति चौधरीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहिबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। प्रहरीले ८ माघमा चौधरीलाई कोशी पुलबाट पक्राउ गरेको थियो।
यसअघि प्रहरीको इन्काउन्टरमा बुधबार मोर्चाका नेता दिपेन्द्र चौधरी मारिएका छन्। चेकजाँचको क्रममा प्रहरीलाई लक्षित गरी गोली चलाएपछि जबाबी कारबाहीमा दिपेन्द्र मारिएको प्रहरीले बताएको थियो।
पक्राउ परेका चौधरी सशस्त्र समूहको नाममा विभिन्न अपराधिक घटनाहरुमा संलग्न रहेको सप्तरीका एसपी राजेन्द्र विष्टले दाबी गरेका छन्। हत्या, चन्दा आतंकजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको चौधरी ‘हार्डकोर क्रिमिनल’ रहेको एसपी विष्टले बताए। ‘कल लोकेसन’ को आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको उनको भनाइ छ।
सप्तरीमा प्रहरी हवल्दार महेन्द्र चतरी यादवमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेका चौधरीको समेत संलग्नता रहेको उनले जानकारी दिए। यसैगरी २०७२ पौष २० गते प्रहरी चौकी झुटकीमा कार्यरत असई रमेश सुब्बालाई गोली प्रहार गरी हत्या गरेको घटनामा पनि चौधरीको संलग्नता देखिएको एसपी विष्टले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४