जनकपुरधाम- जनकपुरमा करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले करेन्ट लागेर ज्यान गुमाएका परिवारलाई १-१ लाख नगद सहयोग गर्ने घोषणा गरेका हुन्।
५ माघमा जनकपुरको कुवा रामपुरमा करेन्ट लागेर धनुषाको मिथिला बिहारी गाउँपालिकाका परमेश्वर मण्डल र सिरहा विष्णुपुर गाउँपालिकाका जगन्नाथ साहको घटनास्थलमै मृत्यु भएको थियो । परमेश्वर नर्वेमा विद्यावारिधी गर्दै आइरहेका थिए ।
मन्त्री सोनल मिथिला बिहारी नगरपालिकाकास्थित मण्डलको घर पुगेर सरकारको तर्फबाट १ लाख नगद सहयोग गर्ने घोषणा गरेका छन् । यसैगरी घटनामा ज्यान गुमाएका सिरहाका जगन्नाथ साहको परिवारलाईसमेत प्रदेश सरकारले आर्थिक सहयोग गर्ने सोनलले बताएका छन्।
करेन्ट लागेर मृत्यु भएका श्रीमती र सन्तानको पालन पोषणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले आश्वासन दिए।
विद्युत प्राधिकरणबाट प्राप्त हुने सहयोगका साथै प्रदेश सरकारले मृतक दुबैका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको मन्त्री सोनलले जानकारी दिएका छन्। मृतकका घरमा मन्त्री सोनलका साथै वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डल र प्रदेश सांसद परमेश्वर साह पुगेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४