काठमाडौं- नेपाली कांग्रेसले सरकारलाई दुई तिहाइको दम्भमा बहुमतलाई रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन चेतावनी दिएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार जारी पार्टीको केन्द्रीय कार्यसमिति बैठकको विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले दुई तिहाइको दम्भमा विवेक नगुमाउन सुझाव दिएका हुन्।
उनले भने, 'संसदमा पेस भएको चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजे कांग्रेस सशक्त भएर त्यसको प्रतिवाद गर्छ। डा गोविन्द केसीको सत्याग्रहलाई लात हानेर विगतमा गरिएको सहमति विपरित विधेयक पारितका लागि बहुमतलाई रातो झन्डा ओढाएर विवेकलाई कात्रो नओढाउन सरकारलाई सुझाव छ।'
यसअघिको संसद बैठकमा विधेयकमाथि छलफल गर्ने कार्यसुचीको विरोध गर्दै कांग्रेसले संसद अवरोध गरेको थियो। शुक्रबारको संसद बैठक सञ्चालनका लागि पनि कांग्रेसले तीन विकल्प अघि सारेको छ।
संसद सञ्चालनका लागि कांग्रेसले दियो तीन विकल्प :
१) माथेमा प्रतिवेदनको राय अनुसार विधेयक पेस हुनुपर्ने ।
२) १५ औं अनशनका क्रममा डा केसीसँग गरिएका सम्झौता हुबहु कार्यान्वयन हुनुपर्ने ।
३) यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको सरकारको पालामा ल्याइएको अध्यायधेस बमोजिम विधेयक पेस गरिनुपर्ने ।
त्यसैगरी कांग्रेस जारी केन्द्रीय कमिटी बैठकमा छ वटा एजेन्डाले प्रवेश पाउने भएका छन्। जसमा :
१) यसअघि महासमिति बैठकमा पेस भएका पाँच वटा प्रतिवेदन (पार्टीका उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन, महामन्त्री डा शशांक कोइरालाको सांगठनिक प्रतिवेदन, पार्टीका अर्का महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधन प्रतिवेदन, सह-महामन्त्री डा प्रकाशशरण महतको अर्थनीति सम्बन्धि प्रतिवेदन र कोषाध्यक्ष सितादेवी यादवको पार्टीको आय/व्यय विवरण समेटिएको प्रतिवेदन) माथि छलफल।
२) नेपाल विद्यार्थी संघको महाधिवेशनका सम्बन्धमा छलफल।
३) लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा गोविन्द केसीको अनशन र सरकारको कार्यशैलीका विषयमा छलफल।
४) संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेता सदस्य रहनुपर्ने र कुनै पनि निर्णय गर्दा प्रतिपक्षी दलको अनुपस्थितिमा गरिएका निर्णय खारेज।
५) पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाका नाममा स्थापना भएका अस्पताल संघबाट हटाउने निर्णयको विषयमा छलफल।
६) गत साउन १० गते बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मलाका पन्तका दोषीलाई सरकारले गरेको संरक्षण र अनुसन्धानको शैलीका विषयमा छलफल गरिने छ।
यो पनि, कांग्रेस बैठक : नेविसंघबारे निर्णय शनिबार
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४