काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए।
उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं। यो अहिले छलफल कै चरणमा छ। यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि हामीले गर्नुपर्ने सुधार गर्न सकिन्छ। अहिले प्रक्रियागत रुपमा नै छ त्यसकारण पास हुन त अझै समय लाग्छ होला। यहाँ आएका सुझावहरु पनि छलफलको क्रममा लिएर जाउला।’
यस्तै, उनले आजको छलफल एकदमै राम्रो भएको भन्दै यहाँबाट प्राप्त सुझावलाई ऐनमा समावेश गराउने बताए।