काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा डा गोविन्द केसीले उठाएका माग, सरकारका गतिविधि र पार्टीका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्ने सरकारी निर्णयबारे छलफल भएको छ।
महासमिति बैठक समापन भएको एक महिनापछि बिहीबार बसेको बैठकमा वाइड बडी खरिद प्रकरणमा भएको अनियमितता, नेविसंघ विवाद लगायतका विषयमा पनि छलफल हुने कार्यसूची छ।
नेविसंघका बारेमा भने शनिबार बस्ने बैठकले टुंगो लगाउने एक केन्द्रीय सदस्यले जानकारी दिए।
दुई पटक गरी नेविसंघको म्याद पाँच पटक थप्दा पनि नेविसंघको वर्तमान कार्यसमितिले महाधिवेशन गर्न सकेको छैन। माउ पार्टी कांग्रेसमा रहेको गुटउपगुटको प्रभाव विद्यार्थी संगठनमा देखिँदै आएको छ। यस्तै वर्तमान कार्यसमितिलाई नै महाधिवेशन गर्न जिम्मेवारी दिने वा कसैको नेतृत्वमा तदर्थ समिति बनाउने भन्ने विषयमा नेतृत्व तहमा विवाद छ।
नेतृत्वले जबाफ दिनुपर्ने अर्को विषय वाइड बडी विमान खरिद प्रकरण हो। प्रकरणमा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको कांग्रेस अहिले पछि हटेको छ। सभापति देउवा पनि यसमा मुछिएका छन्। त्यसैले यो मुद्दा पनि कांग्रेस बैठकमा उठ्नेछ।
महासमिति बैठकले सुझावसहित पारित गरेको विधान संशोधन मस्यौदा समितिका प्रतिवेदन र अन्य समितिका प्रतिवेदनलाई बैठकले पारित गर्नेछ। यसैगरी पार्टी सदस्यता वितरणको सुरुवात, प्रशिक्षणलाई तीव्रता र विभाग गठनका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४