काठमाडौं- नेपाल विद्यार्थी संघले १२औं अधिवेशन माग राख्दै पार्टी कार्यालय घेराउ गरेको छ । ११औं महाधिवेशनमा चयन भएको कार्यकालको म्याद सकिएको ६ महिना पुग्नै लाग्दा १२ औं महाधिवेशनको टुंगो नलागेपछि विद्यार्थीले पार्टी कार्यालय घेराउ गरेका छन् ।
नेपाली कांग्रेसले बिहीबार १२ बजेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पशुपति क्याम्पस, त्रिचन्द्र क्याम्पस, त्रिवि कीर्तिपुर केन्द्रीय क्याम्पस, शंकरदेव, वाल्मीकि, पाटन संयुक्त क्याम्पसबाट मोटरसाइकल र्यालीसहित ठूलो संख्यामा उपस्थित विद्यार्थीले केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअगाडि पार्टी कार्यालय घेराउ गरिरहेका छन् ।
नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य मोतीलाल भण्डारीका अनुसार संघको वर्तमान कार्यसमितिले तोकिएको समयमा १२ आंै महाधिवेशन गर्न नसकेकाले उक्त कमिटीलाई तत्काल भंग गर्नुपर्ने, महाधिवेशन गर्न नयाँ तदर्थ समिति गठन गर्नुपर्ने र १२औं महाधिवेशन मिति तोक्नुपर्नेलगायतका विषयमा पार्टी केन्द्रीय कमिटीलाई दबाब दिन पार्टी कार्यालय घेराउ गरेको बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४