बिहीबार, साउन १४, २०८३

ढल्यो नेपाली शैलीविज्ञानको खम्बा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं - नेपाली सिर्जनात्मक साहित्य, भाषा व्याकरण, समालोचना र प्राध्यापन क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका मोहनराज शर्माको बिहीबार ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्मालाई पछिल्लो समय श्वासप्रश्वासमा समस्या देखिएको थियो। उनको  कलंकीस्थित नेसनल हस्पिटलमा उपचारका क्रममा निधन भएको त्रिवि नेपाली केन्द्रीय विभागका प्राध्यापक डा खगेन्द्रप्रसाद लुइटेलले जानकारी दिए।

१९९४ साल कात्तिक १८ गते, काठमाडौं धर्मस्थलीमा जन्मिएका शर्मा काशी हिन्दु विश्वविद्यालयबाट इतिहास र त्रिविबाट नेपालीमा स्नातकोत्तर पूरा गरेपछि प्राध्यापनमा लागेका थिए। लामो समय त्रिवि नेपाली केन्द्रीय विभागमा प्राध्यापन गरेका शर्मा प्रखर र शालीन व्याख्याताका रूपमा विद्यार्थीमाझ परिचित छन्।

प्राध्यापनबाहेक उनले समालोचना, नाटक, कथा, निबन्ध, उपन्यास, हास्यव्यंग्य, स्तम्भ लेखन र सम्पादनका क्षेत्रमा ठूलो योगदान दिएका छन्। नेपाली समालोचना क्षेत्रमा शैलीविज्ञानको स्थापना र विकासमा शर्माको विशिष्ट योगदान रहेको प्राध्यापक लुइटेलले बताए। शर्माको निधनले नेपाली वाङमयमै ठूलो क्षति भएको उनले बताए। लुइटेलले भने, ‘शर्माको प्राध्यापन क्षेत्रका अतिरिक्त नेपाली साहित्य र समालोचनका क्षेत्रमा ठूलो योगदान छ। उनको निधन नेपाल र नेपाली साहित्य तथा समालोचनाका क्षेत्रमा ठूलो क्षति हो।’

शैलीविज्ञान, समकालीन समालोचना : सिद्धान्त र प्रयोग, नेपालीका केही आधुनिक साहित्यकार, कथाको विकास प्रक्रिया, आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना उनका प्रसिद्ध समालोचना संग्रह हुन्। त्यस्तै शब्द रचना र वर्णविन्यास उनको नेपाली व्याकरणसँग सम्बन्धित चर्चित कृति हो। जेमन्त/यमा र वैकुण्ठ एक्सप्रेस शर्माका नाटक हुन् भने बैखरी, च्याँखेधर्ना, कोर्रा, महाशून्य उनका कथा संग्रह हुन्। पुछारको पातो, इन्टरभ्यु स्पेसलिस्ट मिस्टर झप्पुसिंह डबल एमए शर्माका निबन्ध संग्रह हुन्। मायाविनी शर्शी, छाँगासँग मनका कुरा, नवरस जस्ता महाकवि देवकाटाका काव्यकृतिको सम्पादन गरेका शर्माका सहलेखनमा पनि थुप्रै कृति प्रकाशित छन्। शर्माले बैकुण्ठ एक्पे्रेसका लागि २०४२ सालको मदन पुरस्कार पाएका थिए। यस्तै २०४० सालको मैनाली कथा पुरस्कार पाएका शर्माले अनगिन्ती पुरस्कार र सम्मान पाएका छन्।

उनका पत्नी, परामक्र र आक्रम दुई छोरा र एक छोरी छन्। शर्माका तीन छोरा भने यसअघि नै बितेका छन्। उनका छोरा आक्रम अस्ट्रेलियाबाट नआउन्जेल शव पशुपतिस्थित चिस्यान केन्द्रमा राखिएको छ। उनको अन्त्येष्टि छोरा आएपछि मात्र गरिने पारिवारिक स्रोतले बतायो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।